डसना उद्योगमा आगलागी, रु २० लाखको क्षति

दमौली, २२ पुस । तनहुँको डसना उद्योगमा आज बिहान आगलागी हुँदा रु २० लाखको क्षति भएको छ ।

जिल्लाको व्यास नगरपालिका–४ सिमलटारस्थित बेथेल इन्जिनीयरिङ प्रालिले सञ्चालन गरेको डसना उद्योगमा विद्युत् चुहिएर आगलागी हुँदा रु २० लाखको क्षति भएको हो ।

आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण सामान पूर्णरुपमा नष्ट भएकोजिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बिहान ८ बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा ११ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

टिनले छाएको घरमा सञ्चालित उद्योगमा लागेको आगो निभाउने क्रममा घरको केही भागहरुमा समेत क्षति पुगेको छ ।