लिखित परीक्षामा फेल हुनेलाई पनि सेटिङमा लाइसेन्स दिइयाे, अनियमितता गर्ने यातायातका ११ कर्मचारीलाई जेल

काठमाडौँ  ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

५ देखि ८ कात्तिक ०७३ मा भएको लिखित परीक्षामा सहभागी १२ हजार ६ सय ३१ मध्ये ९ हजार ४ सय ९ लाई उत्तीर्ण गराएर नतिजा प्रकाशन गरिएको थियो ।

तीमध्ये प्रयोगात्मक परीक्षामा उत्तीर्ण ४ सय ६५ परीक्षार्थीलाई सवारीचालक अनुमतिपत्र दिने निर्णय परीक्षा समितिले गरेको थियो ।

तर, परीक्षामा उत्तीर्ण नभएकालाई समेत आर्थिक अनियमितता गरेर सवारीचालक अनुमतिपत्र दिइएको अनुसन्धानमा खुलेको थियो ।

वस्तुगत बहुवैकल्पिकतर्फको प्रश्नमा कम्तीमा नौवटाको सही उत्तर दिने परीक्षार्थी मात्र लिखित परीक्षामा उत्तीर्ण गराउनुपर्नेमा नौभन्दा कम सही उत्तर दिनेलाई समेत उत्तीर्ण गराइएको भेटिएको थियो ।

उत्तरपुस्तिका परीक्षण नै नगरिएका ३३ परीक्षार्थीलाई समेत लिखित परीक्षामा उत्तीर्ण गराएर परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको भेटिएको थियो ।