घुस खाने केटी

काठमाडौं, २२ पुस । ‘सरकारी जागिर’ अनि ‘घुस’ शब्द लाग्छ, एक अर्काका पर्याय हुन् । पछिल्लो समय सरकारी जागिरप्रति युवाहरुको आकर्षण बढ्दो छ । किनकि विवाह गर्ने उमेरका छोरी चीलीले हेर्ने भावी श्रीमान सरकारी जागिरे अनि आमा बाबुले खोजेको ज्वाई सरकारी जागिरे, यहिँ कारण पनि हुनु पर्छ सरकारी जागिरप्रति युवाहरुको आकर्षण बढ्नु ।

सरकारी जागिरसंगै मौलदै गएको गएको घुस खाने प्रवृत्तिले हाम्रो नेपाली समाजलाई नराम्ररी गाँजेको छ । के पियन, के खरिदार, सुब्बा, अधिकृत, सचिव सबै घुसखोरी छन् यहाँ । मैले सुने अनुसार लोकसेवा परीक्षाको तयारी कक्षा दिने अधिकृत, सचिवहरुले नै घुस खान सिकाउँछन रे । अनि तिनैका चेलाले लोकसेवामा नाम निकालेपछि घुस नखाने कुरै भएन ।

विवाह गर्नका लागि हेरिने सरकारी जागिरे केटा त्यो पनि उपल्लो तहको अनि घुस खाने प्रवृतिलाई ब्यांगे गर्दै मित्र पाठकले लघुकथा लेखेका छन् , जसलाई हामीले सेतोपाटीबाट साभार गरेर तल प्रस्तुत गरेका छौं –

काठमाडौंको एउटा कलेजमा अध्यापन गर्ने भएर होला बिहे चाँही अली पढेकी वा जागिरवाली नै गर्नुपर्छ भन्थे सबै। उमेरमा किताबसँगै माया बस्यो अझै भनम् भने अहिलेको भाषामा किताबसँगै लभ पर्‍यो, रिजल्टसँग डेटिङ गइयो अनि उपलब्धि बने डिस्टिङ्सन र कजेज टप र त बिहे गर्ने बेला पाउनु सकस पाइयो।

बर्सेनी जुत्ता फाट्न थालेको तीन चार वर्ष हुन थालेको थियो। यस्तैमा आफ्नै जिल्लातिरै खरिदार भए पनि एउटा सरकारी अफिसमा काम गर्ने केटी हेर्ने कुरो आयो।

कलेजमा बिदा मिलाएर भनेको टाइममा भनेकै स्थानमा पुगेँ म। उनी पनि म भन्दा पहिला नै पुगेर कफी अर्डर गरीसकेकी रहिछन्। पहिलो चोटि भेटेको भएर होला ‘नमस्कार’ गईहाल्यो मेरो तर्फबाट। उनले भनिन्- ‘हाइ’ भन्दा नि हुन्छ किन नमस्कार गर्न पर्‍यो र साथी साथीमा पनि।

हातमा स्कुटीको चाबी हल्दाउँदै, गलामा अस्वभाविक सुनको सिक्री र हातमा औठी टल्काएकी उनीसँग परिचयको क्रम चल्दै थियो। मलाई भने त्यो अनुहार कता कता चिने जस्तो लाग्यो र मनमनै सोचेँ- कहाँ देखे मैले यो केटीलाई!

परिचय पछि उनले आफ्ना सर्त सुनाउँदै थिइन्। मेरो रोजाइ त कम्तिमा अफिसर हो। तर, बा आमाको कुरा काट्न नसकेर मात्रै तपाईँलाई भेट्न आको भन्नसम्म भ्याएकी थिइन् मेरो दिमागमा क्लिक भईहाल्यो- सम्झेँ, हुन त अहिले उनले काम गर्ने अफिस अर्कै थियो, ‘हो उनलाई त मैले डेड वर्ष अगाडि आफ्नै जग्गा पास गर्न आउँदा मालपोत अफिसमा पो भेटेको थिएँ।

मलाई अकस्मात लालपूर्जा लिने बेलाको याद आयो। मेरो समयको अभावले त्यही दिन काम सक्नुपर्ने थियो र अरु काम अघिल्ला दिन नै सकिएकाले नियम अनुसार त्यही दिन सकिन्थ्यो पनि। तर, तिनले त सर्त थुपारिछन् र त्यही दिनै लालपूर्जा लिने भए एक सय रूपैयाँ बढी लाग्छ भनेर मागिछन्।

मेरो भित्री मन बोल्यो आँफैसँग – उठ् केटा उठ् बाहाना बनाएर हिँड्। उनले पनि अरु अफिसर पाउलिन् तैले पनि कम्तिमा यती सानै उमेरदेखि घुस खान पल्केकी केटीबाट छुट्कारा पाउँछस्!

उनले पनि मलाई नकारेको जस्तो आफ्नो निष्कर्ष सुन्दै गर्दा बिदा हुँदै मैले भनेँ, ‘हुन्छ बैनी! हजुर आमा बुवाका लागि मात्रै मलाई भेट्न आउनुभएको रहेछ। म त आफ्नै लागि जीवनसाथी खोज्न आ’को थिएँ, हाम्रो गन्तब्य फरक जस्तो लाग्यो, शुभकामना छ तपाईँलाई तपाईंले खोजेको अफिसर कम्तिमा तपाईँ जस्तो घुँस्या नपरोस्।’

यती भनेर म बाहिर निस्किँए – उनको अनुहार वास्तवमै हेर्न लायक थियो।