एउटै माछाको मूल्य ३४ करोड ७२ लाख !

टोकियो, जापान, २२ पुस । एउटै माछाको मूल्य ३१ लाख अमेरिकी डलर (रु. ३४ करोड ७२ लाख) भन्दा जो कोहि अचम्मित हुन्छन् । तर यो अचम्म वास्तिविकमा परिणत भएको छ ।

जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलरमा खरिद गरेका छन् ।

जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ ।

अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो ।

विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो । “टुना किङ” को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए । यसअघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए ।