३ कक्षा पास गरेर ४ कक्षामा भर्ना गर्ने बिद्यार्थीले पाउँछन् ३६,००० भत्ता !

पर्वत, २२ पुस । जिल्लाको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक विद्यार्थीलाई भत्तासमेत वितरण गर्न थालेको छ ।

कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो ।

कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि सो विद्यालयले गत वर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्य बताउनु भयो ।

यस वर्ष ५ विद्यार्थीले भत्ता पाइरहेका छन् । कक्षा ३ पास गरेका आक्रोश माझी, सीता माझी, निर्मा माझी, कृष्ण माझी र अञ्जना माझीले गत असोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन् ।