भृकुटीमण्डपमा अजङ्गका दीपङ्कर बुद्ध मूर्ति

काठमाडौँ, २१ पुस | नेवारक समुदायको कला तथा संस्कृति झल्काउने तथा यसलाई देशव्यापी बनाउने उद्देश्यले उदाय समाजले आयोजना गरेको अजङ्गका बुद्ध मूर्ति दर्शकको आकर्षणको केन्द्र बनेको छ । भृकुटीमण्डपमा आयोजना गरिएको समाजको तेस्रो उदाय मुना ज्याझवमा मानिसभन्दा अग्लो अर्थात् झण्डै नौ फिट उचाइको त्यस्ता बुद्ध मूर्ति आठ वटा रहेको छ ।

पञ्चदानका दिन प्रदर्शन गरिने प्राचीन बुद्ध मूर्तिमा पूजा गर्ने तथा मूर्ति अगाडि बसेर सेल्फी खिच्नेको घुइँचो लागेको थियो । शाक्यमुनि बुद्धको जन्म हुुनुभन्दा अगाडिका बुद्ध तथा दीपङ्कर तथागत, दीपङ्कर बुद्ध, दीपङ्कर तथागत सम्यकद्य, पञ्जराँद्योका ठूल्ठूला आठ मूर्ति प्रदर्शनमा राखिएका थिए । यसलाई ‘बहिद्यो’ पनि भनिन्छ ।

उदाय मुना ज्याभ्mवको अर्को आकर्षणमा उदाय जातिको विभिन्न पूजा तथा पर्वमा बौद्ध तथा हिन्दू परम्पराअनुसार देखाउँदै आएको प्याखँ (देव देवीको नाच) रहेको छ । काठमाडौँको न्यतमा बसोबास गर्ने न्यत तुलाधर समितिले वर्षेनी प्रदर्शन गर्ने श्री न्यतभलु अजिमाको प्याखँ देखाइएको थियो ।

नेवारी परम्पराअनुसार हरेक वर्ष पाँहाचह्ेका दिन काठमाडौँका उदाय जातिले यो महाद्यो प्याखँ (महादेवको नृत्य) प्रदर्शन गर्ने परम्परा रहेको छ । यसमा गँ प्याखँ भनेर एक सेट देवदेवी नाच्ने गरिन्छ ।

त्यस्तै लोप हुँदै जान लागेको असनको कुम्हो प्याखँ पनि दर्शकको आकर्षणको केन्द्र बनेको छ । यस नृत्यमा बज्रयान बौद्धधर्मको शक्तिबाट तलेजु भवानीलाई रक्षा गर्ने दृष्य देखाइएको हुन्छ ।
रत्नकेतु बोधिसत्वका रुपमा रहने कुम्हो नृत्य गर्ने बालकले तलेजु भवानीलाई आकाशमार्गबाट आउने भयबाट रक्षा गर्दछ । त्यस्तै पातालबाट आउने भयबाट रक्षा गर्ने काम चन्द्रकेतु बोधिसत्वले गर्दछ भन्ने जन विश्वास रहेको छ ।

राजा जयप्रकाश मल्लको शासनकालमा अर्थात् करीब ३०० वर्षदेखि यो प्याखँ देखाउँदै आएको भए पनि ३२ वर्षदेखि बन्द अवस्थामा रहेको आयोजकले बताएका छन् । यो प्याखँ त्यसबेला बौद्ध र हिन्दूबीच विवाद भएपछि यो विवाद समाधान गर्न कुम्हो प्याखँ देखाइएको समाजसेवी ज्ञानेन्द्र तुलाधरको भनाइ छ ।

उदाय समाजका अध्यक्ष एवं उद्योगपति डा रुपज्योति कंशाकारले उद्घाटन गर्दै नेवार समुदायको संस्कृति तथा धर्म आफ्नो मौलिक पहिचान भएको बताउँदै यसबाट नै हाम्रो चिनारी विश्वभर गरेको बताउनुभयो । संस्थापक अध्यक्ष नानीभाइ तुलाधर तथा संरक्षक द्रब्यमानसिंह तुलाधरले नेपालको संस्कृतिलाई संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

समाजसेवी एवं उदाय समाजका प्रचार विभाग प्रमुख सुगतरत्न सिन्दुराकारले उदाय जातिको परम्परागत पेशा लोप हुँदै गएको राससलाई बताउनुभयो । ताम्राकार, कंशाकार, तुलाधर, स्थापित, बनियाँ, सेलालिक, शीलाकार तथा सिख्राकार र सिन्दुराकार गरी नौ जातिमा विभाजीत उदाय जातिले नेपालमा तान्त्रिक पूजाका लागि देवीदेवताका लागि चाहिने क्वखँगा, धकिंगा र ग्वय्का (देवीका लागि चाहिने खास्तो) बनाउने पेशा भए पनि हाल यी काम बन्द भइसकेको बताइएको छ ।

विभिन्न सेवा, व्यवसाय, शीप तथा नेवारी खाजाका परिकार, स्वास्थ्य शिविर उत्पादनका कक्ष गरी कूल १२० कक्ष रहेको सिन्दुराकारले बताउनुभयो । सो कार्यक्रममा नेवारी खाजा बजिसेट, सन्याखुना, विभिन्न परिकार पनि दर्शकको आकर्षण बनेको थियो । रासस