बंगलादेश प्रिमियर लिग आजदेखि शुरु : सन्दिपको टिम सिलेट सिक्सर्सको खेल भोलि हुँदै, पहिलो खेलमा सन्दिप खेल्न पाउलान् ?

काठमाडौं, २१ पुस । आजदेखि औपचारिक रुपमा सुरु भएको बंगलादेश प्रिमियर लिगको पहिलो खेलमा चित्तागोंग भिकिंग्सले रंगपुर राइडर्सलाई पराजित गरेको छ ।

दोस्रो खेलमा आजै ढाका डाइनामाइट्स र राजश्री किंग्स भिड्दैछन् । भोलिको पहिलो खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध टिम सिलेट सिक्सर्स कोमिला भिक्टोरियन्ससँग खेल्दैछ ।

सन्दिपको खेल मुखैमा आइपुग्दा सिलेट सिक्सर्सको फेसबुक पेजमा फयानहरुबीच रमाइलो बहस चलिरहेको छ । सिक्सर्सका हरेकजसो पोस्टहरुमा फ्यानहरुले आफूलाई लागेको सबैभन्दा उत्कृष्ट प्लेइङ ११ खेलाडी छनोट गरेर कमेन्ट गरेका छन् ।

केही फ्यानहरुले नेपाली खेलाडी सन्दिप लामिछानेलाई राखेर ११ जना खेलाडी छनोट गरेका छन् भने केहीले दक्षिण अफ्रिकी लेगस्पिनर इमरान ताहिरलाई रोजेका छन् । सन्दिप र ताहिर दुवै लेगस्पिनर भएकोले एउटा खेलमा दुवैले स्थान नपाउने सम्भावना पनि हुन सक्छ । यद्यपि फ्यानहरुमध्ये केहीले सन्दिपलाई रोजेका छन्, केहीले ताहिरलाई रोजेका छन् भने केहीले सन्दिप र ताहिर दुवैलाई रोजेका छन् । धेरै फ्यानले भने दुवै लेगस्पिनर भएकोले सन्दिप र ताहिरमध्ये कुनै एकलाई खेलाउनुपर्ने भनेका छन् ।

टिमका कोच वकार युनिस र कप्तान डेभिड वार्नरले सन्दिप वा ताहिरमध्ये कुन लेगस्पिनर रोज्छन् वा दुवैलाई खेलाउँछन् त्यो भने भोलि दिउँसो १२ बजेपछि मात्र थाहा हुनेछ । यद्यपि जो खेले पनि विदेशी खेलाडीकै कोटाबाट खेल्ने भने निश्चित छ ।