आँधीपछि आएको बाढीबाट थाइल्याण्डमा ३० हजार शरणार्थी बिस्थापित !

नाखोन सि थाम्मारात, २१ पुस । थाइल्याण्डको दक्षिणी क्षेत्रमा शुक्रबार आएको आँधीपछिको भिषण बाढी र बिद्युत कटौतीका कारण झण्डै तीस हजार जनालाई अन्यन्त्र सारिएको छ ।

प्रभावित क्षेत्रका करिव तीस हजार शरणार्थीलाई शनिबार सुरक्षित ठाउँमा सारिएको हो ।

प्रति घण्टा ७५ किलोमिटरको गतिमा आएको सो आँधीबाट पर्यटकहरु भने सुरक्षित नै रहेका समाचारमा जनाइएको छ ।

अत्यधिक तिव्र गतिको आँधी, त्यसपछिको बर्षा र बर्षापछिको बाढीका कारण विजुलीका संरचनाहरुमा ठूलो असर परेकाले विद्युत सेवा पनि बन्द भएको छ ।

घटनामा परी दक्षिणी पत्तानी प्रान्तमा एक जना माझी मारिएको र अर्का एक जना बेवत्ता रहेका अधिकारीहरुले जनाएका छन् । मारिएका ती माझी ३५ वर्षका रहेका बताइएको छ ।

प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको कोह सामुइ, कोह फान्गान र कोह ताओमा ठूलो मात्रामा पर्यटक तथा यात्रु रहेका थिए । उनीहरुले प्रयोग गर्ने उडान र डुङ्गा सेवा पनि अवरुद्ध भएको थियो ।