बम्जन आश्रममा प्रहरी टोली

सिन्धुपाल्चोक — प्रहरीले तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको खोजी थालेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरीको टोलीले शुक्रबार बाँडेगाउँको टोडे वनस्थित बम्जन आश्रममा खानतलासी गर्‍यो ।


फाइल फोटो ।

सञ्चलालका छोरा महेन्द्रले बाबु खोजीपाऊँ भनी बिहीबार जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । लगत्तै प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको थियो । प्रहरीले शनिबार पनि आश्रममा खोजी जारी राखिने जनाएको छ ।

इन्द्रावती गाउँपालिकास्थित उक्त आश्रममा प्रहरीले साताअघिदेखि नै निगरानी राख्दै आएको थियो । प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले महेन्द्रको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको बताए । आश्रमबाट गायब पारिएको भनिएका वाइबाको खोजीका लागि साता दिन अघिदेखि विशेष अनुसन्धान टोली खटाइएको अर्का एक प्रहरीले जानकारी दिए ।

बम्जनको आश्रमबाट सञ्चलाल र अन्य तीन आनी बेपत्ता भएको आफन्तले बताउँदै आएका छन् । यसमा बम्जनकै संलग्नता रहेको उनीहरूको आरोप छ । टोडेस्थित आश्रम पुग्न मूल सडकबाट करिब एक घण्टा हिँड्नुपर्छ । आश्रमको व्यवस्थापन बोधी श्रवण संघले गर्दै आएको छ ।

बम्जनको आफ्नै शैलीको धर्म प्रचार गर्नु र अनुयायी बनाउनु संघको नीति हो । यसका अनुयायीले सेतो र नीलो पहिरन लगाउँछन् । यसलाई गुरुले बुद्ध धर्मकै एउटा फरक मार्गका रूपमा व्याख्या गर्दै आएको संघ अध्यक्ष गणेशले तामाङले बताए । ‘यो मार्गका विषयमा गुरुले विस्तृत रूपमा किताब नै प्रकाशित गर्ने बताउनुभएको छ,’ उनले भने ।

तामाङका अनुसार अघिल्लो शुक्रबार र शनिबार प्रहरीका केही जवानले आश्रम निरीक्षण गर्नुका साथै भिक्षुहरूको व्यक्तिगत विवरण लगेका थिए । आश्रममा अहिले १६ जना अनुयायी छन् । तामाङले भूकम्पपछि बेपत्ता वाइबा र आनीबारे आफू अनभिज्ञ रहेको बताए ।

सिन्धुपाल्चोकमा बम्जन

२०७१ असोज ६ गते पहिलोपटक बम्जन सिन्धुपाल्चोक आएर भक्तहरूलाई भेटे । इन्द्रावती गाउँपालिका ५ का केही स्थानीयले उनको आश्रम बनाउन ३० रोपनी जग्गा दिए । उक्त आश्रम बम्जनकी श्रीमती दीपशिखाको नाममा छ । आश्रम बनेलगत्तै आनी र भक्त गरी ३५ जना बस्न थालेका थिए ।

त्यहाँ ‘मैत्री पद्धति’ सुरु गरेपछि अनुयायी घटदै गएका थिए । कसैसँग दोहोरो नबोल्ने बम्जनले ०७३ सालमा ‘मैत्री मार्ग’ अँगालेर पहिरन बदले । रातो बौद्ध चीवरको साटो सेतो र हरियो रंगको पहिरन अनिवार्य गरे । सँगै मैत्री बोधी संघ बनाए ।

संघका केवल लामा, मणिक लामा, कमानसिंह लामालगायतले बम्जनको खानपानलगायत व्यवस्थापन गर्न थाले । आश्रमभित्रै हात्ती, घोडा, कुकुर, बिरालोलगायत जनावर राखेर ‘मैत्री पूजा’ गरिन्थ्यो । क्रमश: शिष्यहरू घटदै गएको त्यति बेला बम्जननिकट रहेर काम गरेका एक स्थानीयले जानकारी दिए ।

हेटौंडाका दुई बेपत्ता

बम्जनको आश्रमबाट आफन्त बेपत्ता भएको भन्दै १० दिनअघि दुई परिवारले हेटौंडा प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीअनुसार आनी र सहयोगी बन्न गएका उनीहरू चार वर्षदेखि हराइरहेका छन् । बाराको हलखोरियाबाट तपस्या थालेका बम्जनको सर्लाही, लमजुङ र सिन्धुलीमा पनि आश्रम रहेको प्रहरीले जनाएको छ ।

हेटौंडा उपमहानगर १६ की फूलमाया रुम्बा २०७१ सालदेखि बेपत्ता रहेको भाइ विजयले जाहेरीमा उल्लेख गरेका छन् । फूलमाया आनी बन्न २०६८ सालमा हलखोरिया गएकी थिइन् । बम्जन त्यति बेला त्यहीँ थिए । उनी तपस्या गर्न सिन्धुपाल्चोक पनि आइरहन्थे । २०७१ सम्म सम्पर्कमै रहेकी फूलमाया अचानक बेपत्ता भएको विजयले बताए । ‘२०७२ को भूकम्पपछि बुबाआमा सिन्धुपाल्चोकस्थित तपस्यास्थलमा पुग्नुभयो तर दिदीलाई भेट्न पाउनुभएन,’ उनले भने, ‘खोजी गरिरहेकै छौं ।’

सञ्चलाल पनि मकवानपुरकै पदमपोखरीका हुन् । २०७० मा बम्जनसँग हिँडेका उनको परिवारसँग अन्तिम पटक २०७१ चैत १५ गते फोनमार्फत संवाद भएको थियो ।