लोकगायिका विष्णु माझीको अवस्थाबारे जिल्ला प्रशासन स्याङजाद्वारा खोजि कार्य शुरु !

स्याङ्जा, २१ पुस । लामो समययदेखि अघोषित ‘भूमिगत’ जीवन बिताइरहेकी चर्चित लोकगायिका विष्णु माझीको विषयमा स्याङ्जा प्रशासनले चासो देखाएको छ ।

विभिन्न मिडियामा उनलाई श्रीमानले नै बन्धक बनआएको समाचार प्रकाशन भए पछि उनको बारेमा स्याङ्जा प्रशासनले चासो देखाएको हो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले मिडियामा उनको समाचार आएपछि आफूहरुले उनको स्थिति पत्ता लगाउने प्रयास गरिरहेको बताए । ‘मैले समाचार हेरेँ, उनलाई श्रीमानले बन्धक बनाएको भनेर पहिलेदेखि नै हल्ला चल्ने गरेका थिए, तर मूलधारको मिडियामा आएपछि हामीले यसलाई चासो दिएका हौं,’ उनले भने ।

आफू कार्यरत जिल्लाकी नागरिक भएको नाताले विष्णुको स्थिति पत्ता लगाउनु आफ्नो दायित्व भएको प्रजिअ निरौलाले बताए । ‘कतिपयले यो उनीहरुको निजी मामला भएकाले दख्खल किन दिने भनेर पनि प्रश्न उठाएका छन् नि ? भन्ने प्रश्नमा निरौलाले भने, ‘हामीले उनीहरुको निजी जिन्दगीमा दख्खल दिन खोजेका होइनौं । तर, अहिलेको जमानामा यसरी कसैले लुकेर काम गर्नुपर्ने अवस्था छैन । के कारणले उहाँ सार्वजनिक हुन सक्नुभएको छैन भन्ने हाम्रो चासोको विषय हो ।’

प्रजिअ निरौलाले विष्णुका माइती र घर पक्षसँग बुझ्ने काम भइरहेको बताए । विष्णु काठमाडौंमा कहाँ बस्छिन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको निरौलाको भनाइ छ । स्याङ्जा प्रहरीले पनि विष्णुबारे अनुसन्धान थालेको बुझिएको छ ।