शुरु भयो मोफसलकै ठुलो क्रिकेट प्रतियोगिता मनमोहन स्मृति कप

इनरुवा, २१ पुस । शुक्रबारदेखि मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा जारी खेलको उद्घाटन राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गरेका छन् ।

इनरुवा खेलमैदानमा प्रतियोगिता सञ्चालनका लागि निर्माण गरिएको क्रिकेट पिचमा इनरुवा नगरप्रमुख राजन मेहताको बलिङमा ब्याटिङ गर्दै विष्टले प्रतियोगिता उद्घाटन गर्नु भएको हो ।

सो अवसरमा सदस्यसचिव विष्टले खेलले आर्थिक, सामाजिक, शिक्षा, मानसम्मान सबै प्रदान गर्ने भएकाले खेलको विकास भए नगरको आफै विकास हुने बताए ।

मोफसलकै ठूलो मानिएको राष्ट्रियस्तरको एक दिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटनसत्रमा नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक जगतबहादुर टमाटा, खेदकूद परिषद्का केन्द्रीय सदस्य शम्भु आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

क्रिकेट प्रतियोगितालाई इनरुवा नगरपालिका र शान्तिदीप नेपालले संयुक्त रूपमा आयोजना गरेको हो ।

प्रतियोगिताका विजेताले नगद रु चार लाख एक हजारसहित शिल्ड पाउने छ भने उपविजेता टोलीले रु दुई लाख एक हजार राशि प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनल पुग्ने दुई टिमले समेत रु २५ हजारका दरले पुरस्कार हात पार्नेछन् ।