मलेसियामा रासायनिक ट्याङ्की सफा गर्ने क्रममा ज्यान गुमाएका २ नेपालीको परिवारले जनही ११ लाख रुपैयाँ क्षतिपूर्ती पाउने

मलेसिया, २० पुस । मलेसियामा आफ्नो ड्युटी गर्ने क्रममा ज्यान गुमाउने दुई नेपाली युवकका परिवारले जनही ११ लाख रुपैया पाउने भएका छन । मलेसियाको बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा रासायनिक ट्याङ्की सफा गर्ने क्रममा ज्यान गुमाएका सन्तोष यादव र चुराबहादुर दर्लामी मगरका परिवारले उक्त रकम पाउने भएका हुन् ।

सन्तोष यादव रौतहटका हुन भने चुराबहादुर दर्लामी मगर पाल्पाका स्थानीय हुन् । रासायनिक ट्याङ्की सफा गर्ने क्रममा श्वासप्रवास बन्द भएर उनीहरुको ज्यान गएको थियो । कम्पनीका नेपाली लिडरहरुले सावधानी नअपनाउँदा २ नेपालीले ज्यान गुमाउनु परेको कम्पनिका कामदारहरुले आरोप लगाउँदै आएका छन्।

कम्पनीको असावधानी र सुरक्षा संयन्त्रको कमिको कारण कामदारको मृत्यु भएको कारण कामदारहरुले कम्पनिमा हड्ताल गरेका थिए। तर पछी आक्रोशित कामदारहरुको टोली, कम्पनीका निर्देशकको टोली र दूतावासको टोलीले करीब ४ घण्टा छलफल गरेर मृतकको परिवारलाई जनही ११ लाख रुपैया दिने निर्णय भएको थियो ।