‘करुणा भवन’ शिलान्यास

काठमाडौँ, २० पुस | झण्डै सात दशक इतिहास बोकेको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठभित्र रहेको ‘करुणा भवन’को शिलान्यास गरिएको छ ।

विसं २००८ मा स्थापना भएको उक्त भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएपछि आज पुनःनिर्माणका लागि शिलान्यास गरिएको हो । चीनको एनलाई फाउण्डेशन र चाइना फाउण्डेशन फर पोभर्टीको आर्थिक सहयोग तथा सफा सुनौलो नेपालको सहकार्यमा उक्त भवन निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्पपछिको पुनःनिर्माण चिनियाँ सरकारको ठूलो सहयोग रहेको बताउनुभयो । “चीनको विकासबाट नेपालले पाठ सिक्नुपर्छ”,उहाँले भन्नुभयो । नेता खनालले आनन्दकुटी विद्यापीठले बुद्धको विचार र दर्शनलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

काङ्ग्रेसका सांसद एवं करुणा भवन निर्माण समितिका अध्यक्ष दिव्यमणिराज भण्डारीले नेपालको विकासका लागि चीन र भारतसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । चीनका पूर्वप्रधानमन्त्री चाउ इनलाईले समेत भ्रमण गरेको विद्यालय अहिले दयनीय अवस्थामा पुगेको बताउँदै उहाँले यसको विकासका लागि सबै जुट्नुपर्ने धारणा राख्नुभयो ।

सांसद जीवनराम श्रेष्ठले भिक्षु अमृतानन्दको पहलले स्थापना भएको नेपालको प्रख्यात विद्यालयलाई चीन सरकारले पुनःनिर्माण गरेर ठूलो सहयोग गरेको बताउनुभयो । बेइजिङ एनलाई फाउण्डेशनका अध्यक्ष सेन क्यून, नेपालका लागि चिनियाँ राजदूताबासका राजनीति काउन्सिलर याङ सिकाओ, सफा सुनौलो नेपालका अध्यक्ष राकेश हमाललगायतले बुद्ध विहारको रुपमा रहेको आनन्दकुटी विद्यापीठको निर्माणमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

आनन्दकुटी विद्यापीठका अध्यक्ष धर्ममूर्ती मास्थविरले सन् १९५७ मा चीन बुद्धिष्ट एशोसियशनको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनलाई पुनःनिर्माण गर्न चीन सरकारले सहयोग गरेर राम्रो काम गरेको बताउनुभयो ।

विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखले भ्रमण अवलोकन गरेको आनन्दकुटी विद्यापीठमा करुणा भवन, प्रज्ञा भवन, मैत्री भवनलगायतका भवन रहेको विद्यापीठका प्राचार्य सुजन बज्राचायले जानकारी दिनुभयो । रासस