बम्जनको आश्रममा एक्कासी प्रहरीको छापा ! शव गाडिएको स्थान खोजिँदै (भिडियो सहित)

काठमाडौँ- तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित एउटा आश्रममा प्रहरीको टोलीले छापा मारेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीलेले बमजनको आश्रममा शुक्रबार बिहानदेखि खोजतलास थालेको हो ।

बमजनका चेलाहरु बस्दै आएको जिल्लाको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको बमजनको आश्रममा फरेन्सिक विज्ञसहितको प्रहरीको टोलीले छापा मारेर खोजतलास थालेको हो । बमजनका एकजना अनुयायीको हत्यापछि गाडिएको स्थानको खोजीमा प्रहरी अहिले जुटेको छ ।

जिल्ला अदालत सिन्धुपाल्चोकले आश्रममा खानतलासी गर्न बिहीबार अनुमति दिएपछि प्रहरीको टोली शुक्रबार बिहान त्यहाँ पुगेको हो। बमजनको आश्रममा आनीसहितका केही अनुयायीको हत्या र बेपत्ता बनाइएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

यो प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले दुईवटा जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोलाई परिचालन गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यो प्रकरणको अनुसन्धानका लागि सिआइबीका निर्देशक डिआइजी निरजबहादुर शाही, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी र उजुरी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बुद्धि गुरुङलाई खटाएका छन्।

(भिडियो)