वाइड बडी प्रकरण सम्बन्धमा नेता पौडेलको टिप्पणी : ‘राजनीतिमा तीनतिर फर्केका नेताहरू खान पाएपछि एकैतिर फर्कन्छन् !’

काठमाडौँ , २० पुस । वाइडबडी खरिद प्रकरणमा संसदीय छानविन उपसमितिले निकालेको घोटालाको निष्कर्ष ढाकछोप गर्न सरकारले छुट्टै छानबिन समिति गठन गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् ।

शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न गृहजिल्ला तनहुँ पुगेका नेता पौडेलले यस्तो आरोप लगाएका हुन् ।

लेखा समिति अन्तर्गत उपसमितिले वाइडबडी खरिद प्रकरणको छानबिन गरि चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकालेको बखतमा अनियमितताको ढाकछोप गर्न सरकारले अर्को समिति गठन गरेर पुन छानबिन गर्ने नाटक गरिएको बताएका हुन् ।

नेता पौडेलले सरकारले उपसमितिको प्रतिवेदन मान्दिन भनेर आँफैले बनाएको समितिको अपमान गरेको समेत आरोप लगाएका छन् । सरकारको यस किसिमको क्रियाकलापबाट वाइडबडी खरिद प्रकरणमा ठूला नेताहरू संलग्न रहेको हुनसक्ने उनको बुझाई छ ।

कार्यक्रममा बोल्दै पौडेलले ‘राजनीतिमा तीनतिर फर्केका नेताहरू खान पाएपछि एकैतिर फर्कन्छन्’भन्दै सबै मिलेर घोटाला गरेको त हैन भन्ने आशंका ब्यक्त गरेका थिए ।