विपन्न बिरामीलाई सहयोग अभियान

मङ्गलबारे, २० पुस | आर्थिक अवस्था कमजोर भएका विरामीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापित इलामका सहयोगी हात नामक संस्थामा आर्थिक सङ्कलन वृद्धि हुने क्रम दिनानुदिन बढ्दै गएको छ ।

संस्थाले इलाम अस्पतालमा आउने कतिपय बिरामी आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकी अस्पतालको श्यायामा छटपटाइरहेकालाई उपचारमा सहयोग गर्दै आइरहेको छ । दुई वर्षअघि स्थापित सो संस्थामा दाताको सहयोगले हाल करीब रु २० लाख सङ्कलन भइसकेको संस्थाका अध्यक्ष रतनकुमार चौधरीले बताउनुभयो । रक्तदाताका अगुवा भनेर समेत चिनिने चौधरीले विपन्न बिरामीलाई लक्षित गरी संस्था स्थापना गर्नुभएको हो । उक्त संस्थामा अध्यक्ष चौधरीले आफ्ना आमाबुबाको सम्झनामा रु पाँच लाख सहयोग गर्नुभएको छ । समाजसेवीको अगुवाइमा स्थापना भएको यस संस्थाबाट ६० विपन्न बिरामीलाई उपचार सहयोग गरिएको छ ।

बिरामीको अवस्था हेरी उक्त संस्थाले दुईदेखि रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । पुनः अध्यक्ष चौधरीले नै संस्थामा रु एक लाख सहयोग गर्नुभएको छ । उक्त संस्थामा दुर्गाप्रसाद उप्रेती, हिमालय कर्मचार्य, राजीव जैन, प्रकाश सरिया, प्रयाश शर्मा र प्रज्ववल घिमिरेले रु तीन लाख प्रदान गर्नुभएको छ । रासस