हिरासतको चिसोले चार जना बिरामी

कञ्चनपुर, २० पुस । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका चार कैदी बिरामी परेका छन् ।

कञ्चनपुर खोका छाप्रा तथा उद्धार समितिको आयोजनामा प्रशासनमा ज्ञापनपत्र बुझाउन जाने क्रममा बिहीबार पक्राउ परेका चार जना बिरामी परेका हुन् ।

बिरामी पर्नेहरुमा ६५ वर्षीय रामनाथ योगी, ७९ वर्षीय कमलापती भट्ट, ७७ वर्षीय प्रताप धाँमी र ६९ वर्षीय मन्दिर विष्ट रहेका छन् ।

बिरामी परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयले महाकाली अञ्चल अस्पतालमा उपचार गरेको छ ।

महाकाली अञ्चल अस्पतालका डा वैभव भट्टले चिसोका कारण उनीहरु बिरामी परेका बताएका छन् । डा भट्टले चारै जनालाई न्यानो ठाउँमा राख्नुपर्ने सुझाव दिनुभएको छ ।