पत्ता लाग्यो क्यान्सर जाँचको नयाँ विधि
लन्डन । । ब्रिटेनमा क्याम्ब्रिजका वैज्ञानिकहरूले क्यान्सरको भर्चुअल रियालिटी (भिआर) घडी मोडल निर्माण गरेका छन् । जसबाट बिरामीको जाँच र उपचारलाई अझै प्रभावकारी बनाइने दाबी गरिएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।
नयाँ विधिमा के छ विशेष ?
यो विधिअनुरूप ट्युमरको नमुनालाई गहन ढंगले जाँच गर्न सकिने बताइएको छ । उक्त विधिका माध्यमबाट कोशिकाहरूको अनेक तरिकाले जाँच र ‘म्यापिङ’ गर्न सकिने भएकाले यो विधि लाभदायक सिद्ध हुने वैज्ञानिकहरूको भनाइ छ ।
शोधकर्ताहरूले यसको सहयोगबाट क्यान्सरको जटिलतालाई अझै सूक्ष्म तरिकाले बुझ्न सकिने पनि बताएका छन् । क्यान्सरको जटिलता थाहा पाउन सके त्योसँग सम्बन्धित नयाँ उपचारको पनि अनुसन्धान गर्न सकिने उनीहरूले दाबी गरेका छन् ।
कसरी तयार गरियो ?
शोधकर्ताहरूले यो विधि विकसित गर्नका लागि ब्रेस्ट क्यान्सरको एक मिलिमिटरको आकार भएको टुक्रा लिएका थिए । जसमा झण्डै १ लाख कोशिकाहरू थिए । जसलाई पातलो ‘स्लाइस’ मा काटेर स्क्यान गरियो । डिएनए जाँच गर्न सकियोस् भनेर त्यसमा चिह्न लगाइयो ।
भर्चुअल रियालिटीको प्रयोगबाट ट्युमरलाई फेरि दोस्रोपटक बनाइयो । घडी ट्युमरको विश्लेषण भर्चुअल रियालिटी प्रयोगशालामा हुनसक्छ । भिआर सिस्टमका माध्यमबाट ट्युमरलाई जताबाट पनि जाँच गर्न सकिन्छ ।
क्यान्सर रिसर्च युके क्याम्ब्रिज इन्स्टिच्युट (सिआरयुके) का निर्देशक प्रोफेसर ग्रेग हेननले बिबिसीसँग भने, ‘कसैले पनि यसअघि यति विस्तारित ढंगले ट्युमरको जाँच गरेको छैन । कुनै क्यान्सरको जाँचको यो एकदमै नयाँ र आधुनिक विधि हो ।’