जबर्जस्ती करणी र लेनदेन मुद्दामा फरार तीन जना पक्राउ

लहान, २० पुस । जबर्जस्ती करणी र लेनदेन बिगो मुद्दामा फरार रहेका दुई महिलासहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका–३ निवासी २२ वर्षीय रवीन्द्र यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई सिरहा जिल्ला अदालतमा बुझाइने प्रहरीले जनाएको छ ।

यस्तै लेनदेन बिगो मुद्दामा फरार सिरहा नगरपालिका–१२ सारस्वर निवासी ३८ वर्षीया अनिता देवी सहनी र सोही ठाउँकी ४० वर्षीया भक्ति खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

अवैध समानसहित दुई पक्राउ

प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब रु दुई लाख मूल्य बराबरको अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा चोरी पैठारी गरिरहेको अवस्थामा अवैध सामानसहित कल्याणपुर नगरपालिका–९ निवासी २४ वर्षीय सन्तोषकुमार यादव र बरियारपट्टी गाउँपालिका–३ निवासी २२ वर्षीय प्रमोदकुमार यादवलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले ३५४ थान लेडिज स्काफ, कालो मरीच १२५ किलो बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय नरहाले दुई टिन खाने तेल, २५ किलो पास्ता तथा प्रहरी चौकी औरहीले मोटरसाइकलसहित ८० लिटर नागाजी खाने तेललगायतका समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस