चर्चित पत्रकार रवि लामिछानेको २४ वर्ष अगाडी नै भएको थियो विवाह, तर सम्बन्ध टिकेन आखिर किन त ? रविले आफ्ना विगत यसरी कोटयाए !

काठमाडौं, २० पुस । न्युज -२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता तथा चर्चित पत्रकार रबि लामिछानेले आफ्नो व्यक्तिगत जीवनको वास्तविकता सार्बजनिक गरेका छन् ।

कतिपय पत्रकारले उनको नितान्त व्यक्तिगत जीवनको बिगतलाई कोट्याएर उनको बद्नाम गर्न खोजेको आभास पाएपछि उनले कसैलाई पनि त्यसबारेमा समय खर्चन नपरोस भन्दै आफैले आफ्नो बिगत बारे सार्बजनिक गरेका हुन् ।

रविले २४ वर्ष अगाडी सानै उमेरमा आफुले विवाह गरेको र सम्बन्ध सुमधुर बनाउने प्रयास गर्दा गर्दै पनि आफु असफल भएपछि कानुनी रुपमै अलग भइसकेको उल्लेख गरेका छन् । यस बिचमा विदेशी मूलकी एक प्रेमिकाबाट सन्तान जन्मेको समेत उनले उल्लेख गरेका छन् ।

बाँकी उनको आफ्नै शब्दमा हेर्नुहोस् :

श्रीमान्, म जीउँदै छु…
नचाहदा नचाहदैपनि आफ्नो ब्यक्तीगत कुरा गर्नु पर्यो । मलाई पाइलैपिच्छे लडाउन, देशबाटै निकाला गर्नेलगायतका प्रयास विफल भएपछि अब मेरो निजी जिवनमा प्रवेश गर्ने प्रयास हँुदै रहेछ । लामो समयसम्म बैचारिक लडाइँ लड्दै अलग अलग बसेको र पछि कानुनी रुपमै अलग भएको मेरो वैवाहिक सम्बन्धलाई लिएर ठूलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजी जीवनबारे लेख्न बाध्य भएको छु ।

मेरी पूर्व पत्नीलाई प्रयोग गरी मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणित गर्न दिनरात लाग्नु हुने साथीहरुलाई मैले पहिला पनि भनेकै थिए कि टाइम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस्, मै बताइदिन्छु सबै कुरा । मलाई खोक्रो आदर्श र झुटो जिन्दगी बाँच्नु छैन र म त्यति आदर्शवान मानिस पनि होइन । मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा विवाह गरेको थिएँ र हालसालै मेरो सम्बन्ध बिच्छेद पनि भइसकेको छ । तर वर्षौसम्म मतभेद, अलग बसाइ र बोलचालसमेत नभएपछि राजीखुसीले आफ्ना सबै अधिकार लिएर मसँग सम्बन्ध बिच्छेद गरेकी पूर्वपत्नीले आफू मबाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछन् ।

लगभग २४ वर्षअघि भएको विवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो, त्यो म जन्दिनँ, तर कसैकसैले ‘रविको कर्तुत’ वा ‘रविको असली रुप’ जस्ता शीर्षक ‘रेडि टु पब्लिस’ अवस्थामा राखेको थाहा पाएकाले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु ।

अमेरिकामै छँदा म परिवारभन्दा अलग बस्ने गर्थे । सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक विदेशी प्रेमिकासँग पनि बसेको थिएँ । ६–७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्याउन चाहन्न । मलाई त ब्यक्तिगत बिषयमा एक शब्द पनि बोल्न मन थिएन । र, सम्भावतः यो मेरो जीवनको पहिलो र अन्तिम स्तरहीन टिप्पणी हुनेछ ।
हेडलाइन नै हेरेर धारणा बनाउनेहरुले मलाई एक मिनेटमै ठूलै अपराधी बनाउनेछन् । मान्छे दुनियाँसँग लड्न सक्छ, तर आफन्तसँग सक्दैन । अमेरिकामै रहँदा अलग बसेका हामी बिगत १० वर्षदेखि नै अलग छौ । कारण र घटना एउटा होइन अनेक छन् । जति छन्, ती अत्यन्तै लाज मर्दा छन् । ती बिदेशीमूलकी पूर्वप्रेमिका र मेरो बीचमा एक सन्तान पनि छ । यति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारानदेखिको बल लाउनै पर्दैन । तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भइसक्यो । हाम्रो सम्बब्ध लामो समय टिकेन । सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुँदैन रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला । तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौ, जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो बिवाह भएको वर्षहरु त बढे, तर सम्बन्ध कहिले पनि अघि बढेन ।

ज्यादै अप्रिय विगतलाई टुंगोमा पुर्याउने अन्तिम उपाय कानुनी उपचार नै हो र हामिले वर्षौको अशान्ति र असन्तोषलाई सहमति मै टुंगोमा पुर्यायौ, परिवारका सदस्यको उपस्थितिमा, कानुन ब्यवसायीहरुको मद्दतमा, उनले भनेका हरेक शर्तहरुको पुरै पालना गरेर। ईजलासमा प्रस्तुत सम्बन्ध बिच्छेदको मिलापत्र हेर्दै न्यायाधीश श्रीमानले सोध्नुभयो, सबै कुरा आफ्नी श्रीमतीलाई दिनु भएछ, सन्तानको जिम्मापनि आफैले लिनु भएछ, अमेरिकामा उहाँहरु बस्ने घर र उहाँहरुको खर्चपनि तपाईं कै जिम्मामा लगाईएछ। अब तपाईं सङ के बाकी छ त? मैले जवाफ दिएको थिए, श्रीमान म जीउँदै छु।कुनै पत्रकारलाई म्यासेज मार्फत मेरि पुर्व पत्निले मलाई परिवारलाई रुवाएर भागेर नेपाल गएको भनेर लेखिएको र मेरो वास्तविक रुप देखीए जस्तो नभएको भनी लेखेर पठाएको थाहा पाए। बिहानै देखि केही पत्रकारहरुको फोन आउन शुरु भएको छ। उनको म्यासेज कुनैपनि समयमा सार्वजनिक हुने क्रममा छ।

जिवनमा भएका घटनाहरु मात्र बताएर अतीतका कथा कहाँ पूरा हुन्छ्न र।अनेकौ घटना बिच २४ वर्ष बितेका हुन जसलाई खोतल्दा सन्तानको मानसिकतामा असर गर्दछ। पछिल्ला वर्षहरुमा पुर्व पत्नी सङ बोल चाल समेत नभएको अवस्थामा मैले एक्लै बस्ने वा उठेर फेरि हिड्ने भन्ने निर्णय गर्नु नै थियो। बाहिर को वाह वाही तर घर भित्रको एक्लोपनले म कयौ पटक बिरामी परे र झण्डै डिप्रेशन को शिकार नै भएको थिए।

माया र बिश्वास बर्षौ सम्म मरेको सम्बन्धलाई सहमतिमा र अदालतबाटै टुंगो लगाएर गए पछि उनलाई मैले छ्ल गरेको कसरी लागेछ,म बुझ्न सकिरहेको छैन।अब मसङ बाकी रहेको थोरै नाम र इज्जत छ। त्यस्मापनि आँखा लागेछ। त्यसैले,आज त्यो पनि दिन चाहन्छु। मेरो “नकाब“ उतार्न र आफ्ना कर्तुतहरु सर्वजनिक गरि मलाई सिध्याउन लागि पर्ने मित्रहरूलाई र पुर्व पत्नीलाई म आफै खुलेर सहयोग गर्न चाहन्छु।

मन परेको हेडलाईन हालेर स्वाद अनुसारको मसला मोलेर पस्क्नुहोला। यति मै मेरा कर्तुतहरु सकिदैनन, बाकी सुन्न रिपोर्टर खटाउनै पर्दैन मै खुलासा गरिदिउला। दुर्गममा परिवारको बिचल्ली पारेर मानिस युरोप अमेरिका भागेका छन, मैले आफ्नी पुर्व पत्नी सहित, आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा (उनिहरु नेपाल आउन नमानेपछी) आफू नेपाल बसेर,सम्पुर्ण आफ्नो जायजेथा सुम्पेर,अझै अमेरिका बस्दाको पुरै ब्यवस्थापन यतिबेला सम्मपनि गर्दै आएको छु।

अदालतमा न्यायाधीशका सामुन्ने राजी खुशीले, मसङ भएको र शायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रहोबरमा सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिन।अब म बर्षौको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बड्न चाहन्छु। कसैमाथी अन्याय नगरी म आफू माथीपनि न्याय गर्न चाहन्छु । म भागेको छैन, प्रत्येक मंगलबार, बिहीवार र शनिबार राति ८ः४५ मा लभधक द्दद्ध टेलिभिजनमा प्रत्यक्ष आउँछु । भोलि राति पनि आउँदैछु । सदाझै उहीँ जोश, उहीँ उमंगका साथ । श्रीमान्, म जिउँदै छु ।