श्रीमानको एसिड प्रहारबाट जोगिएकी अश्मीको दर्दनाक कथा !

भरतपुर, २० पुस । श्रीमानको ज्यादती सहन नसकेर माइतमा आएर बसेकी अश्मी रुम्बा श्रीमानलाई आफ्नो माइतीमा देख्दा एकाएक खुशी भइन् तर उनको त्यो खुशी पलभरमै तहस नहस भयो ।

श्रीमानको कुटपिट सहन नसकेपछि तीन महिनादेखि माइतीमा बस्दै आएकी उनलाई श्रीमान् विरेन गुरुङ सुध्रिए भन्ने लागेको थियो । साथीसँगै आफूलाई लिन आए भन्ठानेर विगतका सबै घटना बिर्सिइन् उनले ।

तर कोठामा एक्लै भएको बेला श्रीमानले झोलाबाट बोतल झिकेर एसिड हाल्न आएको भन्ने सुनाउँदा अश्मी छाँगाबाट खसे जस्तै भइन् । एसिड शब्द सुनेकी मात्र के थिइन्, अश्मीले घोप्टो परेर अनुहार जोगाइन् । बाक्लो कपडाका कारण एसिडले उनको शरीरमा असर गर्न भने पाएन । उनले लगाएको कपडा भने जल्यो ।

एसिड प्रहारसँगै अश्मी चिच्याइन् । सुनेर छिनमै बहिनीहरू कोठामा पुगे र भिनाजुको कुकृत्य रोके । त्यसले पनि अश्मीलाई एसिड लाग्न पाएन । अश्मीको अनुहारमा छिटफुट लागेको एसिड पानीले पखाले । भदौदेखि माइतीमै बस्दै आएकी अश्मी विरेनले माफी मागेपछि पुस १ गते घर गएकी थिइन् । तर त्यसपछि पनि श्रीमानकाे हिंसा नघटेपछि उनी माइतीमै फर्किएकी थिइन् ।