अत्यन्तै स्वास्थ्यवर्दक तीते करेलाको स्वादिष्ट तरकारी बनाउने सरल तरिका (विधि सहित)


तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा पर्ने एक वनस्पति हो। तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गार्ड पनि भन्ने गरिन्छ। हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अति लाभदायक छ । सब्जीको रूपमा प्रयोग गरिने करेला लहरामा फल्ने फल हो।

आज हामी करेलाको मिठो तरकारी बनाउने विधि लिएर आएका छौ।

आवश्यक सामग्री :

ठिकको ४ वटा वा ४०० ग्राम तिते करेला

१ कप काटेको गोलभेँडा

२ ३ वटा काटेको हरियो खोर्सानी

१ ठूलो काटेको प्याज

कागती १ वटा

बेसारको धुलो आधी चम्चा

जिरा र धनियाँको दाना आधी आधी चम्चा

गरम मसाला आधी चम्चा

पिसेको अदुवा लसुन १ चम्चा

रातो धुलो खोर्सानी १ चम्चा

तेल ३० मि.लि

नुन स्वाद अनुसार

बनाउने विधि :

सर्वप्रथम कराईमा तेल तताउनुहोस् र त्यसमा जिरा, धनियाँ, र हरियो खोर्सानी हाल्नुहोस् । त्यसपछि यसमा काटेको प्याज हालेर फ्राइ गर्नुहोस् । हल्का प्याज फ्राइ गरिसकेपछि यसमा बेसार र करेला राखेर राम्ररी चलाउनुहोस्।

राम्रोसँग चलाइसकेपछि यसलाई छोप्र कम्तिमा पनि १० मिनेट पकाउनुहोस्। बिच बिचमा यसलाई चलाइदिनुहोस्। यो चलाउनु चाहिँ चारैतिर राम्ररी पाकोस् र नडढोस् भन्नका लागि हो। अब यसमा गोलभेँडा र अन्य मसला हालेर राम्रोसँग चलाउनुहोस् र मध्यम तापमा पकाउनुहोस् ।

राम्रो सँग चलाइसकेपछि फेरी एकपटक छोपेर यसलाई कम्तिमा पनि १० मिनेटसम्म सानो आगोमा पकाउनुहोला। तरकारी पाकिसकेपछि यसमा कागतीको रस राख्नुहोस् र राम्ररी चलाउनुहोस्। अब पस्किनुस्।

प्रतिक्रिया दिनुहोस
Advertisement