अमेरिकी गृह सुरक्षा सचिव निलसनद्वारा राजीनामा, राष्ट्रपति ट्रंपले दिए धन्यवाद !

काठमाडौं, २५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपलाई एक पछि अर्को झड्का लाग्ने क्रम जारी छ ।

संसदद्वारा अल्पमतमा परेका राष्ट्रपति ट्रंपलाई गृह सुरक्षा सचिव क्रिस्जेन निलसनले पदबाट राजीनामा दिएपछि पुनः अर्को झड्का लागेको हो ।

यद्यपी निलसन प्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिको प्रमुख योजनाकार मानिन्छिन् ।

उनले राजीनामा दिनुको कारण नखुलेको बीबीसीले जनाएको छ । उनले आफ्नो कार्यकाललाई जीवनभरको सम्मान भनेकी छन् । उनले राजीनामा पत्रमा लेखेकी छन्, ‘यस विभागमा सहयोगीहरुसँग रहेर सेवा, समर्पण र प्रतिबद्धताका साथ काम गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो ।’

राष्ट्रपति ट्रम्पले भने निलसन अस्थायी रुपमा जिम्मेवारीबाट अलग भएको जानकारी दिएका छन् ।

उनले ट्वीट गर्दै निलसनको स्थानमा सीमा शुल्क तथा सीमा सुरक्षा आयुक्त केविन म्याकलेनन नियुक्त गरिएको जानकारी दिएका छन् । ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘होमल्याण्ड सेक्युरिटी प्रमुख क्रिस्जेन निलसनले आफ्नो पद छाड्नेछिन् र म उनको उत्कृष्ट सेवाको लागि धन्यवाद दिन चाहान्छु ।’

सुश्री निलसनले ट्रम्प सरकारको विवादास्पद सीमा नीतिको बचाउ गरेको भन्दै आलोचना खेप्दै आएकी थिइन् । यद्यपी राष्ट्रपति ट्रम्पसँग उनको सम्बन्ध त्यति सुमधुर नभएको बताइन्छ ।