विषयगत सभापतिको शपथ

विराटनगर, २४ चैत (रासस) : प्रदेशसभाको विषयगत समितिका निर्वाचित सभापतिलाई आज शपथ ग्रहण गराइएको छ । प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १३४(१) बमोजिम निर्वाचित सात जना सभापतिलाई प्रदेशसभाको प्राङ्गणमा राष्ट्र र जनताप्रति निष्ठावान् रहने गरी सभापतिले शपथ लिनुभएको छ ।

शपथग्रहण गर्नेमा न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिको सभापतिमा अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनरायण गनगाइँ, सामाजिक विकास समितिको सभापतिमा सरिता थापा, उद्योग, पर्यटन वन तथा वातावरण समितिको सभापतिमा सीता थेवे र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको सभापतिमा सर्वध्वज साँवा रहनुभएको छ ।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विषयगत समितिका सभापतिले सभा सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गरी जनताप्रति जवाफदेहिता र उत्तरदायित्व कायम राख्नुहुने बताउनुभयो । जिम्मेवारी प्रतिपक्षीलाई प्रदेशको विकास कार्यको महत्वपूर्ण योगदान दिन सहयोग सहकार्य गर्ने बताउनुभयो ।

प्रदेश सभामुख भण्डारीले सदनलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सभापतिको महत्वपूर्ण भूमिकामा र योगदान रहने हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सहमति सहकार्यबाट कानून निर्माण गरी विकासको कार्यलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय लिम्बूवान पार्टीका प्रदेश सभासद् विष्णु तुम्बाहाम्फेले सहमति र सहकार्यबाट प्रदेशको विकासका अगाडि बढनुपर्ने धारणा व्यक्त गर्नुभयो । नवनिर्वाचित सभापतिलाई मुख्यमन्त्री राई, सभापति भण्डारी, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, उद्योग र पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले खादा फूलमाला पहि¥याइ बधाई दिनुभएको थियो । शपथ ग्रहण समारोहमा प्रदेश उपसभामुख सरस्वती पोखरेल, प्रदेश महान्यायाधिवक्ता चूडामणि आचार्य, विभिन्न राजनीतिक दलका प्रदेश सभासद्, प्रदेश कार्यालयका प्रमुखको उपस्थिति थियो । -रासस