पहिलो बलमै छक्का हानेका मोइनलाई त्यतिमै सिमित गर्दै सन्दीपले पविलियन फर्काइदिए

काठमाडौं, २४ चैत्र । भारतमा जारी इण्डियन प्रीमियर लीग (आईपीएल)को आइतबारको खेलमा नेपाली स्पीनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल भइरको छ ।

बेंगलुरुको चिन्ना स्वामी मैदानमा भइरहेको खेलमा दिल्ली क्यापिटल्सले पहिला बलिंग गरिरहेको छ ।

दिल्लीका लागि स्टार स्पीनर सन्दीपले १५ औं ओभरमा सफलता दिलाए । उनले बेंगलुरुका अंग्रेज ब्याट्सम्यान मोइन अलीलाई विकेट किपर ऋषभ पन्तको हातबाट स्टम्पिङ गराए ।

१५औं ओभरमा आफ्नो तेस्रो ओभर बलिंग गर्नका लागि आएका सन्दीपलाई अलीले पहिलो बलमै छक्का प्रहार गरेका थिए । सन्दीपले दोस्रो बलमाा कुनै रन दिएनन् । तेस्रो बलमा विकेट लिँदै अलीसँग ‘बदला’ लिए ।

आइतबारको खेलमा सन्दीपलाई मार्कोस स्टोइनिसले पहिलो ओभरको पहिलो बलमै छक्का प्रहार गरेका थिए । सन्दीपले सो ओभरमा १० रन दिए । दोस्रो ओभरमा ६ रन दिएका सन्दीपले तेस्रो ओभरमा ११ रन दिए ।

यससँगै जारी आइपिएलमा सन्दीपले ५ विकेट लिइसकेका छन् ।