युभेन्टसको जितमा रोनाल्डोलाई सम्झनु परेन

एजेन्सी, २४ चैत्र । इटालियन सिरी ‘ए’ अन्तर्गत युभेन्टसले एसी मिलानलाई पराजित गरेको छ ।

सुपरस्टार क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रेको युभेन्टसले मिलानलाई पराजित गरेको हो ।

युभेन्टसले घरेलु मैदानमा एसी मिलानमाथि २–१ को पूनरागमन जित निकालेको छ । चोटका कारण सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने मिलानविरुद्धको खेलमा उत्रिएनन् ।

घरेलु मैदानमा युभेन्टसको पूनरागमन जितमा पाउलो डिब्याला र मोएस किनले गोल गरे । मिलानका क्रिजिस्टोफ पियाटिकले गोल गरे ।

३९औं मिनेटमा पियाटिकले गोल गरेपछि मिलाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । टिमोउ बाकायोकोका पासमा पियाटिक गोल गर्न सफल भएका थिए । तर, मिलानले त्यो अग्रतालाई जोगाउन सकेन ।

६०औं मिनेटमा घरेलु टोली युभेन्टस पेनाल्टीमार्फत खेलमा फर्कियो । मुसाचियोले डिब्यालालाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा डिब्याला आफैले गोल गरे । ८४औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए ।

जितसँगै युभेन्टसले आफ्नो शीर्षता थप बलियो बनाएको छ ।