शनिबार साँझदेखि उठ्यो मेस, हावाहुरीपीडितको भन्छन् – ‘अब राहत पाको फुको चिउरा र पानी खानुपर्ला !’

बारा, २४ चैत्र । चैत १७ गतेको विनशाकारी हुरीले अत्याधिक क्षति पुर्‍याएकाे भरवलीया गाँउका घरबारविहीनहरुलाई शनिबार साँझदेखि अर्को आपत् आइपरेको आजको अन्नपुर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित भएको छ ।

आइतबार साँझ हुरीले गाँउ नै तहसनहस बनाएपछि खानाका लागि भरवलीया गाँउमा आधा दर्जनभन्दा बढी स्थानमा संचालन गरिएको मेस उठेपछि उनीहरुमाथि अर्को बिपत आइलागेको हो ।

घर नै हुरीले उडाएका स्थानीयका लागि अब कहाँ गएर के खाने भन्ने अन्योल बढेको छ । ‘मेस बन्द भएपछि राहतमा पाएको अलिकति फुक्का च्युरा छ त्यही खाएर पानीले पेट भर्नुपर्ला,’ भरवलीयाकी अन्जुदेवी बरइ भन्छिन्, ‘मेस हुँदा खाना त बरु सजिलो नै थियो । अब च्युरा र पानी वाहेक अरु विकल्प छैन हामीसँग ।’

हुरीले ध्वस्त पारेका घरका भग्नावशेषमै भाडाकुडा, लत्ताकपडा, चुल्हो, अन्नपात सबै पुरिएर नष्ट भएपछि पीडितहरु अहिले ओत लागेर बसेका त्रिपाल र अस्थायी टेण्टमा आफैँ खाना पकाएर खानसक्ने अवस्था नरहेको बताउँछन् ।