अचम्मको कण्डम आयो बजारमा, जुन यौन पार्टनरको सहमतिले मात्रै खोल्न मिल्छ !

एजेन्सी, २३ चैत्र । यौनसम्बन्धमा पार्टनरको सहमति जरुरी हुन्छ । तर यौनसम्बन्धमा मात्रै सहमति नभएर अब कन्डममा समेत यौन पार्टनरको सहमति चाहिने भएको छ ।

अर्जेन्टिनाको कम्पनी तुलिपन अर्जेन्टिनाले यस्तो कण्डम उत्पादन गरेको छ जुन पार्टनरको सहमतिमा मात्रै खुल्ने दावी गरिएको छ । यो कण्डमलाई कन्सेन्ट कण्डम अर्थात् सहमतिवाला कण्डमको नाम दिइएको छ ।

यो आफैंमा अचम्मको उत्पादन छ । किनभने यसलाई खोल्न दुबै व्यक्तिहरुलाई एकैपटक कण्डमको दुई किनारामा दबाब दिनु पर्छ । तुलिपनका अनुसार, यो कण्डम सुरक्षित हुनुका साथै यौन सम्बन्धमा सहमतिलाई प्रमुखता दिने प्रकारको छ । यस कन्डमको उद्देश्य नाफा कमाउनु नभई सहमतिबाट सम्भोगमा बढी आनन्द छ भन्ने कुरा प्रचार गर्नु हो ।

यो कण्डमलाई एउटा अभियानका रुपमा बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । कण्डमको ट्याग लाइनमा लेखिएको छ– यो सानो प्याकेट दुई व्यक्तिको प्रयासबाट मात्रै खुल्छ किनभने यसरी नै सहमतिबाट सम्बन्ध मजबूत हुन्छ ।

अहिले यो कण्डम ब्यूनस आयर्सहरुमा सित्तैमा बाँडिएको छ । यो वर्षको अन्तसम्म भने यो सबैका लागि उपलब्ध हुने छ ।