लागुऔषधसहित दुई पक्राउ

काठमाडौँ, २३ चैत। महानगरीय प्रहरी प्रभाग थानकोटले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले उदयपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ११९८ नम्बरको यात्रुबाहक बस र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २७७६ नम्बरको यात्रुबाहक बस जाँच गर्दा सुनसरीका विकास साह र बाँकेका सन्तोष यादवलाई आज बिहान पक्राउ गरेको हो ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएर लागुऔषध काठमाडौँ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका साहसँग डाइजेपाम १५० एम्पुल, फेनार्गन १५० एम्पुल र नुर्फिन १५० एम्पुल तथा यादवबाट नाइट्राभेट ३६ ट्याब्लेट र स्पास्मो १९ ट्याब्लेट बरामद गरेको छ ।

पक्राउ परेका साह र यादवलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी मुद्दा चलाउन महानगरीय प्रहरीवृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । रासस