गाउँपालिकाद्वारा मोबाइल एप्स सञ्चालनमा

लमही, २३ चैत । दाङको शान्तिनगर गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । मोबाइलबाटै सेवा प्रवाह गर्नुका साथै गाउँपालिकाका सम्पूर्ण गतिविधि मोबाइलबाट सञ्चालन गर्न उक्त एप्स सञ्चालनमा ल्याइएको अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो ।

“अब हामीले सबै सेवा तथा गतिविधि मोबाइलमा हेर्न सक्छौँ”, उहाँले भन्नुभयो, “सबै गतिविधि घरबाटै हेर्न र सेवा लिनका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएका हौँ ।” स्थानीय तहको समृद्धि र विकास तथा सुशासन कायम गर्नुका साथै जनतालाई सहज रूपमा घरमै बसेर सेवा प्राप्त गर्न सकिने भएपछि एप्स सञ्चालन गरिएको हो ।

सातै वडाका बासिन्दाले गाउँपालिकासम्म धाउनुपर्ने समस्याको अन्त्य हुने अध्यक्ष डाँगीको भनाइ छ । एप्सको सहयोगमा आवश्यक कागजपत्र र प्रक्रियाका बारेमा जानकारी, योजना तथा कार्यक्रम थाहा पाइने, सूचना, समाचार, आपतकालीन नम्बर, जनप्रतिनिधि तथा कर्मचारीको फोटोसहितको सम्पर्क विवरण, वडाको प्रोफाइल, महत्वपूर्ण स्थानको परिचय, गुनासो तथा समस्या दर्ता गर्न सकिने उहाँले बताउनुभयो ।

जिल्लाका १० स्थानीय तहमध्ये चारमा मोबाइल एप्स सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र शान्तिनगर गाउँपालिकामा एप्स सञ्चालनमा ल्याइएको छ । घोराही उपमहानरपालिका, बबई, दङ्गीशरण, गढवा, राजपुर, बङ्गलाचुली गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याउन बाँकी छ । रासस