‘पार्टी एकीकरण नहुँदा सरकारका राम्रा कामको प्रचार भएन’

काठमाडौँ, २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी एकीकरण नटुङ्गिएकाले सरकारका राम्रो कामको प्रचार हुन नसकेको बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को भेलामा आज यहाँ उहाँले समयमा नै पार्टी एकीकरण नटुङ्एिकाले सरकारको राम्रा कामको प्रचार गर्ने नेता कार्यकर्ता नभएको बताउनुभयो । “एकीकरण तल्लो तहसम्म नभएकाले नेता, कार्यकर्ता बेरोजगार हुनुपरेको छ”, उहाँले भन्नुभयो, “तल्लो तहमा निराश मेटाउन चाँडै एकता प्रक्रियालाई टुङग्याउनु पर्दछ ।”

उहाँले पार्टी एकता नहँुदा पार्टीमा अहिले राजनीतिक र वैचारिक पद्दति नभएको समेत स्पष्ट पार्नुभयो । उहाँले ठूलो पार्टी भए पनि एकीकरण नसकिँदा निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा गर्न नसकिएको धारणा राख्नुभयो । उहाँले अहिलेको सरकारको मुख्य लक्ष्य समाजवाद ल्याउने रहेको उल्लेख गर्दै सामाजिक न्यायसहितको नयाँ नेपाल बनाउन लाग्नुपर्ने बताउनुभयो ।

नेकपाका प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले मुलुकको पुरानो संरचनाको अन्त्य गरी नयाँ संरचनाको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा ठूलो परिवर्तन भएर अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपनि विकास निर्माणमा काम गर्ने सोचमा परिवर्तन आउन नसकेको बताउनुभयो । प्रदेश नं ३ का सचिव आनन्द पोखरेलले मुलुक निर्माणको जिम्मा निर्माण व्यवसायीको भएकाले स्वच्छ र मर्यादित भएर काम गर्नुपर्ने बताउनुभयो ।

भेलामा सङ्गठनका इन्चार्ज टङ्कप्रसाद चौलागाईंले ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई पूरा गर्न निर्माण व्यवसायी अग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायमा देखिएका कानूनी जटिलतालाई हटाउनुपर्ने बताउनुभयो ।रासस