६९ वर्षकी एसईई दिने आमाको नातिले झारिदियो दाँत, अझै दुई वर्ष पढ्ने योजना (हेर्नुहोस् भिडियो)

काठमाडौँ । आइतबारदेखि एसइई परीक्षा सुरु भयो। परीक्षालाई लिएर धेरै विधार्थीहरु खुशी भएका छन् । कुनै बेला फलामेद्वारका रुपमा लिइने एसएलसी अहिले एसइई भएको छ। ओखलढुंगा लिखु गाउँपालिका घर भई हाल भक्तपुरको गोठाटार बस्ने युगमाया कार्की (६९ वर्ष) ले पनि नातिसँगै एसइई परीक्षा दिएकी छन् ।

७ सन्तानकी आमा उनले पढाइको इच्छा पूरा गर्न नातिसँगै एसइईको तयारी गरेकी थिइन्। २०६१ सालबाट ७ जना महिलाहरुले सुरु गरेको यस विद्यालयमा कक्षा १ देखि १०सम्मको पढाइ हुन्छ । यहाँ १४ वर्ष माथिका महिलाहरुलाई पढाइन्छ।

युगमायालाई पहिलादेखि नै पढ्ने मन थियो। तर उनले भनेको जस्तो परिस्थिति रहेन। त्यतिबेला छोराहरुलाई मात्रै विद्यालय पढाउने चलन थियो। युगमायाको सानै उमेरमा विवाह भयो। विवाहलगत्तै घरको काम अनि सात सन्तानलाई हुर्काउने जिम्मेबारी पूरा गर्दा गर्दै उनको उमेर ढल्क्यो। पढ्ने रहर पूरा गर्न उनले गाउँमा हुँदा प्रौढ कक्षा पनि लिइन्। तर भूकम्पपछि उनका छोराले काठमाडौँ ल्याए।

गाउँबाट काठमाडौँ आएपछि उनलाई यहाँको जीवन सहज भएन। पढाइ नहुँदा अनेकन समस्या भोग्नुपर्‍यो। उनको मनमा फेरि पढाइ सुरु गर्नुपर्छ भन्ने दृढता बढ्दै गयो। ‘जानेको जति लेखेकी हुँ। पास हुन्छु भनेर दिएको हुँ। पास भइयो भने कलेज पनि पढ्ने हो’, उनले भनिन् । आफूले चाहेको राम्रो काम गर्नपिर मान्न नहुने उनले बताइन्। भिडियो हेर्नुहोस :