टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिने हो भने मान्छे मार्दै हिँडे भो : भिम रावल

धनगढी । सरकारले टीकापुरमा प्रहरीको हत्यामा स‌ंलग्नहरुको मुद्दा फिर्ता लिएर आममाफी दिने बताइरहेका बेला एमालेका उपाध्यक्ष भीमबहादुर रावलले हत्याराहरुलाई आममाफी दिन नहुने बताएका छन् ।

टीकापुर घटना राजनीतिक नभई जघन्य अपराध र विभत्स हत्याकाण्ड भएको बताउँदै मधेस आन्दोलनका नाममा घटनाका मुद्दा फिर्ता लिने सरकारको पहलले दण्डहीनता र अराजकता बढाउने उनको भनाइ थियो ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले उप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले टीकापुरसहित मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्दा फिर्ता गर्ने भन्दै सार्वजनिक गरेको भनाईको कडा प्रतिवाद गरेका हुन् ।

टीकापुर घटनामा संलग्नहरुलाई पनि दसैं अघि नै आममाफी दिएर रिहा गरिने सरकारको धारणा आइरहँदा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले आठ प्रहरीसहित दुधे बालकको हत्या गर्नेहरुलाई आममाफी दिँदा देशमा दण्डहीनता बढ्ने जिकिर गरे ।

‘टीकापुर घटना आततायी र क्रुर भएकाले त्यसमा संलग्नहरुलाई कुनै हालतमा छोड्नु हुँदैन’, उनले भने ‘टीकापुर घटना कदापि राजनीतिक होइन, पानी खान सर्वसाधारणको घरमा बसेका सुरक्षाकर्मीलाई लखेटेर भालाले रोप्दै निर्मम हत्या गर्नेहरुलाई राजनीतिक रङ्ग दिएर उन्मुक्ति दिने कुरा मान्न सकिन्न ।’

मुद्दा फिर्ता लिने गृहमन्त्री निधिको भनाईबारे कडा प्रतिक्रिया दिँदै रावलले टीकापुर नरसंहारका दोषीलाई उन्मुक्ति दिने हो भने देशमा जसलाई पनि मार्दै हिँडे हुने उनको तर्क थियो ।

गृहमन्त्री निधिले शनिबार टीकापुर र मधेस आन्दोलनमा पक्राउ परी मुद्दा लगाइएका ती सय ७४ जनालाई दसैंअघि नै आममाफी दिने बताएका थिए ।

कैलालीको टीकापुरमा एक वर्षअघि भदौ ७ थरुहटका कार्यकर्ताहरुले आक्रमण गर्दा प्रहरी वरिष्ठ उपरीक्षक लक्षमण न्यौपानेसहित आठ प्रहरी र एक बालकको ज्यान गएको थियो ।

(कारोबार दैनिकमा ४ आश्विन २०७३ मा प्रकाशित पुन: प्रकाशित गरिएको)