निजी स्रोतबाट विद्यालय भवन

बैतडी, २३ चैत । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म मावि खोचलेकले निजी स्रोतवाट दुई कोठे विद्यालय भवन निर्माण गरिरहेको छ । विद्यालयको निजी स्रोतले दुई कोठे एकतले भवन निर्माण कार्य जारी रहेको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिनुभयो ।

उक्त भवनको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । विद्यालयको रु १० लाखको लगानीमा उक्त भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । विद्यार्थीको चाप बढी हुँदा भवन अभाव भएपछि विद्यालयले आफ्नै लगानीमा कक्षाकोठा भवन निर्माण गर्न लागेको प्रधानाध्यापक नाथको भनाइे छ ।

यसका साथै सिटीइभिटीबाट आइएसी भेटेरेनरी डिप्लोमा र शिक्षा विभागबाट सिभिल इञ्जिीनियरको लागि पहल भएको र सम्बन्धन प्राप्त भएपछि आगामी शैक्षिक सत्रबाट उक्त विषयको पढाइ हुने बताइएको छ । कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा हाल प्राविधिक धारमा कृषि जेटिएको पढाइ हुँदै आएको छ । कूल ७५० विद्यार्थी अध्ययनरत सनातन धर्म मावि श्रीकोटमा कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट समेत पढाइ हँुदै आएको छ ।

किसानलाई निःशुल्क तालीम

बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा स्थानीय किसानका लागि निःशुल्क सीप प्रमाणीकरण तालीम शुरु भएको छ । श्रीकोटस्थित सनातन धर्म मावि खोचलेकमा उक्त तालीम सञ्चालनमा रहेको हो । चैत १ गतेदेखि शुरु भएको सीप प्रमाणीकरण तालीममा दोगडाकेदार गाउँपालिकाका ४० किसानको सहभागिता रहेको छ ।

दुई महिनासम्म जारी रहने निःशुल्क तालीममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)को रु तीन लाख ५५ हजार सहयोग रहेको छ । सीप प्रमाणीकरण तालीममा किसानको नेतृत्व क्षमता विकासको बारेमा ज्ञान दिँदै आएको आयोजनकले जनाएको छ । तालीमपश्चात् सिटीइभिटीले सीप प्रमाणीकरण पछि प्रमाणपत्र दिने र उक्त प्रमाणपत्र देश तथा विदेशमा काम गर्न सहज हुने जनाइएको छ । तालीममा खकेन्द्र कुँवर, वीरेन्द्र सिंह, हिरेन्द्र खड्का र हीरा कुँवर तथा अगुवा किसान लालसिंह धामी, पदमसिंह भाट र अनिल जोशी प्रशिक्षक रहनुभएको छ ।