२४ हजार तलव खाने सुब्बाले आधा अर्व कसरी कमाए ?

काठमाडौं, २३ चैत्र । निजामती सेवाको सानो पद हो, नायब सुब्बा र यसलाई सानै पद पनि मानिन्छ । यिनको तलब २४ हजार ५०० मात्रै छ । तर, तिनै २४ हजार तलव खाने सुब्बाले अकुत सम्पत्ति कसरी कमाउँछन् ? यसको एउटै उत्तर हो- भ्रष्टचार ।

ठूलाठूला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहरु बढी संलग्न रहेको पुष्टि हुन्छ । यातायात व्यवस्था कार्यालय कोसीका तीन लेखापाल (सुब्बा) करोडौँको भ्रष्टाचार मुद्दा खेपिरहेका आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

लेखापाल सुरेश अधिकारीविरुद्ध ६१ करोड २८ लाखको बिगो दाबीसहित अख्तियारले मुद्दा चलाएको छ ।

लेखापाल देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालमाथि २१ करोड ६३ लाख भ्रष्टाचार अभियोग छ । तीनै जनको मुद्दा अदालतमा विचाराधीन छ ।