‘संविधानले सबै जातजातिको अधिकारलाई सुनिश्चित’

जनकपुरधाम, २२ चैत । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान संविधानले सबै जातजातिको अधिकारलाई सुनिश्चित गरेको बताउनुभएको छ ।

कैथबनियाँ सेवा समाजको दोस्रो राष्ट्रिय महाधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै नेपालले संविधानले १३६ जातजातिको अधिकारलाई सुनिश्चित गरेको छ भन्नुभयो । आफ्नो इतिहासप्रति गौरव बोध गर्दै सबैले मिलेर समृद्धिको बाटोमा अग्रसर हुनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

उहाँले जातजातिको रङविरङको सुन्दरतालाई बचाउनु जरूरी छ भन्नुभयो । समाजमा दाइजोका कारण छोरीसँग विभेद गर्ने मनोदशामा परिवर्तनका लागि छोरीलाई पढाउनुपर्ने खाँचो आँैल्याउँदै नेता नेपालले देश नयाँ युगमा प्रवेश गरेको अवस्थामा पनि कुरीति कायम रहनु चिन्ताको विषय भएको धारणा राख्नुभयो ।

छोरालाई सम्मान र छोरीलाई अपमान नगरी दुवैलाई समान व्यवहार र संस्कार दिनु अपरिहार्य भइसकेको छ भन्दै उहाँले प्रेम र सद्भावसँगै सामाजिक सौहार्दता कायम राख्नु पर्दछ भन्नुभयो । नेता नेपालले प्रगतिप्रति वैरभाव र सङ्कीर्णभाव नराखी नयाँ सोच, जागरणसँगै सुसंस्कृति र संस्कारलाई जीवन्त राख्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य शत्रुधन महतो र रामआशीष यादवले कुनै पनि समुदायले हीन भावना नराखी सामाजिक कुरीतिको अन्त्य गर्न एकजुट हुुनुपर्दछ भन्नुभयो । रासस