वर्ल्ड कपको पुर्वसन्ध्यामा क्रिकेट टिमको कप्तान परिवर्तन गर्नु गलत भएको भन्दै रसिद र नाबीले क्रिकेट बोर्ड पूर्वाग्रही भएको आरोप लगाए

काठमाडौं, २२ चैत्र । अफगानिस्तान क्रिकेट बोर्डले राष्ट्रिय क्रिकेट टिमका कप्तान असगर अफगानलाई कप्तानबाट बर्खास्त गरेपछि खेलाडीहरुले असन्तुष्टि ब्यक्त गरेका छन् छन् ।

टिमका प्रमुख खेलाडीहरु मोहम्मद नाबी र रसिद खानले असन्तुष्टि जनाउंदै क्रिकेट बोर्डको यस्तो निर्णयको आलोचना गरेका छन् ।

बर्खास्त गरिएका कप्तान असगर अफगानको समर्थनमा दुवै खेलाडीले विश्वकपको पूर्वसन्ध्यामा कप्तानी परिवर्तन गर्दा अन्योल उत्पन्न भएको बताएका छन् । ट्विटरमा नाबीले लेखेका छन्, ‘विश्वकपको नजिक आएर कप्तान परिवर्तन गर्नु सही होइन् । अफगानको कप्तानीमा टिमले राम्रो गरिरहेको थियो । विश्वकपमा हामीलाई नेतृत्व गर्न उनी सही व्यक्ति थियो । यो निर्णय उचित समयमा भएन ।’

यस्तै टी–२० टिमको नयाँ कप्तान बनाइएका रसिद खानले पनि वान डेको नेतृत्व परिवर्तन गर्न नहुने बताएका छन् । उनले क्रिकेट बोर्डको निर्णय पूर्वाग्रही र गैरजिम्मेवार रहेको समेत आरोप लगाएका छन् ।

सन् २०१५ मा नाबीलाई बिस्तापित गर्दै असगर कप्तान भएका थिए ।