काठमाडौंको लाजिम्पाटमा भिषण आगलागी हुँदा एकजनाको मृत्यु, चार घाइते, दुई जनाको अवस्था नाजुक !

काठमाडौँ, २२ चैत । काठमाडौँको लाजिम्पाटमा भिषण आगलागी भएको छ । बिहीबार राति भएकाे आगलागीमा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

लाजिम्पाटस्थित चैतन्यमार्गमा रहेको धर्म महर्जनको घरमा आगो लागेपछि सोही घरमा भाडामा बस्ने भेषबहादुर थापाको मृत्यु भएको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

थापा राजधानीस्थित शंकर होटलमा सेक्युरेटी गार्डको काम गर्दै आएका थिए । आगलागीमा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा बर्दिया राजापुरका विवेक शाही र उनकी श्रीमती गंगा शाही रहेका छन् । विवेकको मुख जलेको र गंगाको अनुहारलगायत शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ ।

घाइते चन्द्रमाया राई र बिना बस्नेत भने अस्पतालबाट डिस्चार्ज भएको समाचारमा जनाइएको छ ।

माटोको घरमा बिजुली सर्ट भएर आगो लागेको प्रहरी प्रवक्ता बोगटीले बताए । राति १२ बजे लागेको आगो १ बजे नियन्त्रणमा आएको थियो ।