भाग्यमानी प्रदीप-जसिता : नेपालका सिनेमा हलमा ‘लभ स्टेसन’को सोलो प्रदर्शन

काठमाडौं, २२ चैत्र । नेपाली चलचित्र ‘लभ स्टेसन’ आज शुक्रबारबाट नेपालका सिनेमा हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ ।

अन्य शुक्रबार दुई वा दुईभन्दा बढी फिल्मको भिड लाग्ने नेपाली फिल्म बजारमा यो हप्ता भने ‘लभ स्टेसन’ले सोलो रिलिजको मौका पाएको हो ।

प्रदीप खड्का र जसिता गुरुङको मुख्य अभिनय रहेको फिल्मले सोलो रिलिजको मौका पाउनुले पछिल्लो समय ओरालो लागेको फिल्म व्यापारलाई सुधार गर्न सक्ने फिल्म विश्लेषकहरुको अनुमान छ ।

फिल्म ‘प्रेम गीत’बाट चम्किएका प्रदीप त्यसयता उनको फिल्मेले त्यति दर्शक रुझाउन सफल देखिएका छैनन् । उनको यस्तो खस्कँदो स्टारडमलाई रिकभर गर्न फिल्म कति सक्षम हुने हो त्यो भने पर्खाइको विषय बनेको छ ।

केही समयअघि प्रदीप र जसिताकै अभिनयमा ‘लिलिबिली’ प्रदर्शनमा आएको थियो । जहाँ प्रदीप र जसिताको जोडीलाई दर्शकहरुले रुचाएका थिए । तर उनीहरुको यो दोस्रो स्क्रिन सेयरलाई कतिले रुचाउने हुन् त्यो भने शुक्रबार र शनिबारका अकुपेन्सीले देखाउनेछ ।

‘लभ स्टेसन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् भने गोविन्द शाहीले निर्माण गरेका छन् ।

फिल्ममा प्रदिप र जसिताको साथमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजालको समेत अभिनय रहेको छ ।