स्थगित भएको एसईई परीक्षा पुनः सुरु भएकै दिन फेरी पनि बाहिरियो प्रश्नपत्र !

काठमाडौँ, २२ चैत्र । दुई विषयको प्रश्नपत्र आउट भएपछि रद्द भएको प्रदेश नं २ अन्तर्गतको एसइई परीक्षा शुक्रबार शुरु भएको पहिलो दिन नै परिक्षा शुरु भएको केहिबेरमा फेरी प्रश्नपत्र बाहिरिएको छ ।

धनुषाको बरकुर्वा परीक्षा केन्द्रबाट अनिवार्य विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरू भएको केहीबेरमै आउट भएको हो ।

परिक्षा हलमा मोबाइल निषेध गरिएको भएता पनि एक परीक्षार्थीले मोबाइलमा प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको बताइएको छ ।

गार्ड बसेका एक शिक्षकको सहयोगमा प्रश्नपत्र बाहिरिएको समाचारमा उल्लेख गरिएको छ । ‘चिट चोराउन’ बाहिर बसेका अभिभावकहरुले प्रश्नपत्र आउट भएको भन्दै हल्ला गरेपछि घटना सार्वजनिक भएको हो ।

प्रश्नपत्र आउट भएको सूचना पाए लगतै निरीक्षण तथा अनुगमनको संयुक्त टोली उक्त परीक्षा केन्द्र पुगेको थियो । अनुसन्धानको क्रममा प्रश्नपत्र बाहिर पठाउन परिक्षार्थिले फकिरचन्दगामी माध्यमिक विद्यालयका शिक्षक शंकर यादवले मोबाइल प्रयोग गरेको खुल्न आएको छ ।

प्रहरीले फोटो खिचेर पठाएको भन्दै ४ विद्यार्थीलाई पनि नियन्त्रणमा लिएको छ भने शिक्षक शंकर यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।