अब चटपटे बिक्रि गर्नलाई पनि दर्ता गर्नु पर्ने !

काठमाडौं, २२ चैत्र । जताततै चटपटे बिक्री गर्नेलाई सरकारले कडाइ गर्ने भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिका बनाएर मापदण्ड निर्धारण गर्दै चटपटे बिक्रीमा कडाइ गर्ने भएको हो ।

त्यसका लागि विभागले ‘स्ट्रिट फूडको स्वच्छता सम्बन्धी निर्देशिका २०७५’ को मस्यौदा तयार पारिसकेको छ, अब्त्यस्लाई स्वीकार गर्न मात्रै बाँकी रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले बताए ।

‘सडक पेटीमा बेचिने वस्तुको नियमन गर्नुपर्छ,’ उनले भने, ‘विशेषगरी सडक पेटीमा प्रिन्टेड कागजमा बिक्री हुने खानेकुरा नियमनका लागि निर्देशिका लगभग बनिसकेको छ ।

अब मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट स्वीकृत भएपछि निर्देशिका कार्यान्वयनमा आउने छ ।

विभागकी उपमहानिर्देशक मतिना जोशी वैद्यले चटपटे बिक्री गर्दा दर्ता गरेर बिक्री गर्नुपर्ने मापदण्ड बनाइएको बताइन् ।

कागजमा बिक्री हुने चटपटे स्वास्थका दृष्टिकोणले हानिकारक भएको भन्दै त्यसको नियमनका लागि निर्देशिका बनाइएको उनले बताइन् ।