गिट्टी कुटेर छोरीलाई उच्च शिक्षा

–सुशीला रेग्मी बेझाड, २२ चैत । रामपुर नगरपालिका–६ तिलकपुरका टोपनारायण ढकालले गिट्टी कुटेर छोरीको फार्मेसी पढ्ने सपना पूरा गर्नुभएको छ ।

प्रयाप्त आयस्रोत नहुँदा छोराछोरीको पढ्ने चाहना हुँदाहँुदै पनि बीचमै पढाइ छोडाउन बाध्य हुने यहाँका अभिभावकका लागि गतिलो उदाहरण बनेका छन्, टोपनारायण ढकाल । उनले गिट्टी कुटेको आम्दानीबाट छोरीलाई बुटवल बजारमा राखेर फार्मेसी शिक्षा पढाउँदै आएको छ । “सानैदेखि नै छोरीको पढाइ राम्रै थियो, एसएलसी दिएपछि उनले फार्मेसी पढ्ने इच्छा गरिन्, छोरीको सपना पूरा गर्न गिट्टी कुटेर फार्मेसी पढाउन थाले”, ढकालले भन्नुभयो ।

उहाँले कालीगण्डकीबाट ढुङ्गा ल्याई घरको आँगनमा बसेर गिट्टी कुट्न थालेको चार वर्ष भयो भन्दै बिहान, दिउँसो र साँझ निरन्तर रुपमा गिट्टी कुट्ने र त्यसबाट आर्जन गरेको रकम छोरीको पढाइमा लगानी गरिरहेको बताउनुभयो । दैनिक १० बोराभन्दा बढी गिट्टी कुट्दै आउनुभएका ढकालले भन्नुभयो, “आफूले पढ्न नसक्दा जीवनभर दुःख पाउनु प¥यो, सन्ततीलाई उचित शिक्षा दियो भने उनीहरुको भविष्य राम्रो होला नि !” घरमै गिट्टी खरीद गर्न ग्राहक आउने हुँदा कुटेर राखे मात्र हुन्छ । ढकालले भन्नुभयो, “बिक्रीका लागि समस्या नहुँदा आय आर्जन गर्ने उपयुक्त माध्यम बनेको छ, गिट्टी कुट्ने पेसा ।”

रामपुर नगरपालिका क्षेत्रमा पछिल्लो समय ठूला ठूला घर भवन बन्न थालेपछि गिट्टी कुटेर आम्दानी गर्ने राम्रो अवसर मिलेको उहाँ बताउनुहुन्छ । “गिट्टी कुटेर छोरीलाई फार्मेसी शिक्षा र छोरालाई होटल व्यवस्थापन शिक्षा पढाइरहेको छु, उनीहरुले भने बाबुको दुःख परिश्रमअनुसार नै मेहिनत गरेर पढिरहेका छन्” ढकालले भन्नुभयो । “छोरी फार्मेसी शिक्षा सकेर अब जागिरको तयारीमा छ”, उहाँले भन्नुभयो, “हाम्रो गाउँघरमा अझै पनि छोरीलाई पढाउनु हुँदैन भन्ने पुरानो मान्यता यदाकदा छ, चाहना र ईच्छा भए कडा परिश्रम गरेर भए पनि छोरीलाई उच्च शिक्षा दिन सक्ने उदाहरण म आफैं बनेर देखाएको छु ।” ढकालले दुःख गरेर छोरीलाई फार्मेसी शिक्षामा लगानी गर्नुभएको देख्दा स्थानीवासी दङ्ग छन् । अहिले उहाँले आय स्रोत बलियो बनाउन घरमा किराना पसल, बाख्रापालन व्यवसाय पनि चलाउनुभएको छ । घरको आँगनमा बसेर गिट्टी कुट्ने, घरको हेरचाह गर्ने, पसल चलाउँदैमा दिन गएको उहाँलाई पत्तो छैन् ।

५० वर्षीय ढकालले आफूले सक्दासम्म निरन्तर रुपमा गिट्टी कुट्ने बताउनुहुन्छ । यस क्षेत्रमा करीब ५० घरभन्दा बढी गिट्टी कुट्ने व्यवसायमा आबद्ध छन् । घरबाटै प्रतिबोरा रु ५० मा धमाधम गिट्टी बिक्री हुन थालेपछि यस व्यवसायप्रति स्थानीयवासीको आकर्षण बढ्दो छ ।

कृषि फार्ममा रामपुरका युवाहरु

ग्रामीण कृषि पर्यटनको प्रवद्र्धन तथा विस्तार गर्न रामपुरका युवाहरु सामूहिक कृषि फार्ममा जुटेका छन् । वैदेशिक रोजगारीमा पसिना बगाएर स्वदेश फर्केका यहाँका तीन युवाले कृषि पर्यटन बढाउन समूहमा आबद्ध भएर कृषि फार्म शुरु गरेका हुन् । वैदेशिक रोजगारीबाट फर्केका रामपुर नगरपालिका–६ तालपोखराका गोपाल कँडेल, शिव देवकोटा र शम्भु खनालले १० रोपनी जग्गा भाडामा लिई माछापालन, टर्कीपालन र स्थानीय जातको कुखुरापालन व्यवसाय सञ्चालन गरेका छन् । यी युवाले शुरु गरेका कृषि फार्म हेर्नेको अहिले चहलपहल बढ्दो छ । फार्ममा छ हजार माछाका भुराहरु, ६० वटा टर्की चरा र १२० वटा स्थानीय जातका कुखुरा रहेका छन् । टर्कीपालन व्यवसाय यो क्षेत्रमा नयाँ व्यवसाय हो ।

टर्की हेर्नकै लागि यस फार्ममा धेरैको आकर्षण बढ्दो छ । दैनिक जसो यस फार्ममा ४० जनाले अवलोकन गर्ने गरेको पाइएको छ । यस फार्ममा अहिलेसम्म रु १० लाख लगानी भएको छ । यहाँका युवाले छ महीना अघिदेखि यो फार्म शुरु गरेका हुन् । कृषिमा नयाँ व्यवसाय गर्ने र ग्रामीण कृषि पर्यटन विस्तार गर्ने मनसायले माछापालन सँगसँगै यस क्षेत्रकै लागि नयाँ प्रजातिको टर्की चरा पाल्न शुरु गरेको गोपाल कँडेल बताउनुुहुन्छ । उहाँ वैदेशिक रोजगारीमा पाँच वर्ष समय विताएर गाउँ फर्केलगत्तै साथीभाईसँग हातेमालो गर्दै कृषि फार्ममा लाग्नुभएको छ । फार्ममा युवाहरुले मुख्य त माछापालन व्यवसायलाई जोड दिने बताएका छन् ।

माछापोखरी वरिपरी टर्की र कुखुराको चरन क्षेत्र बनाएर यसलाई पनि सँगसँगै अगाडि बढाउँदै जाने कँडेलले बताउनुभयो । बेराजगार भएर बस्नुभन्दा कृषिमा केही गरियो भने आम्दानी पनि हुने भएकोले सामुहिक रुपमा कृषि फार्म शुरु गरेको शम्भु खनाल बताउनुहुन्छ । “विदेशमा पनि काम नगरी दाम पाइँदैन, अर्काको देशमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा कृषिमा नयाँपन दिनका लागि साथीसँग सहकार्य गरेको हुँ” खनालले भन्नुभयो । कोरियामा पाँच वर्षको अनुभवले शिव देवकोटालाई पनि गाउँमै कृषिमा केही गरौँ भन्ने पाठ सिकायो ।

“सुनेको विदेश र भोगेको विदेशमा धेरै अन्तर पाए, त्यहाँ वर्षदिन गर्ने मेहिनत यहाँ एक महीना पूरा पनि गर्नुपर्दैन, सजिलैसँग त्यहाँको भन्दा राम्रो कमाइ गर्न सकिदो रहेछ भन्ने कोरियाको रोजगारीले अनुभव पाए” देवकोटाले भन्नुभयो । घरपरिवारको साथमा साथीभाईसँगै हाँसखेल गरेर फार्ममा काम गर्न पाउँदा साह्रै रमाइलो लागेको देवकोटा बताउनुुहुन्छ । बहखोलाको किनारमै फार्म रहेकाले सिँचाइका लागि राम्रो सुविधा पुगेको छ ।

यहाँका युवाले गरेको व्यवसाय यस क्षेत्रकै लागि नमूना योग्य रहेको रामपुर नगरपालिका–६ का अध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ । “यो फार्म रामपुर क्षेत्रकै ग्रामीण कृषि पर्यटनका रुपमा छोटो समयमा परिचित बन्दै गएको छ” अध्यक्ष न्यौपानेले भन्नुभयो । पाँच रोपनी क्षेत्रफलमा हाँस र स्थानीय जातको कुखुरा थप्ने सोच छ । वार्षिक ५० हजार बुझाउने गरी जग्गा भाडामा लिई व्यवसाय चलाएका हुन् । पोखरीमा रौ, सिल्भर, कमन, ग्रासकार्प लगायतका माछाहरु छन् । रासस