मन्दिर उत्खननको क्रममा कीर्तिपुरमा भेटियो लिच्छवीकालीन मूर्ति

काठमाडौं, २२ चैत । कीर्तिपुर नगरपालिका-६, चारघरेमा लिच्छवीकालीन मूर्ति फेला परेको छ ।

भूकम्पले भत्किएको जालपादेवी मन्दिर उत्खननका क्रममा लिच्छवीकालीन नागकन्या र लक्ष्मीको मूर्ति भेटिएको हो ।

मूर्ति भेटिएपछि पुरातत्व विभागले त्यहाँ उत्खनन थालेको छ । खन्ने क्रममा मूर्तिको सानो टुक्रा भने चोइटिएको छ । त्यस्तै, मन्दिरको भग्नावशेषबाट कुँदिएका ढुंगा र सिक्कासमेत भेटिएका छन् ।

भेटिएका मूर्ति लिच्छवीकालीन भएको पुष्टि भएको पुरातत्व विभागले गरेको छ । मन्दिर पुनर्निर्माण समितिको आग्रहपछि पुरातत्व विभागबाट भाष्कर ज्ञवालीको नेतृत्वमा आएको एक टोलीले मूर्ति तथा सिक्का लिच्छवीकालीन भएको पुष्टि गरेको वृहत चारघरे धार्मिक समितिका सचिव विनोद बस्नेतले जानकारी दिए ।

भेटिएका पुरातात्विक मूर्ति तथा सिक्का विभागले मन्दिर निर्माण समितिलाई कै जिम्मामा छाडेको छ । मन्दिरमा पुरातात्विक महत्त्वका वस्तु भेटिएपछि थप उत्खनन थालिएको छ ।