अझै दुई दिन मौसम बदली हुने, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ, २२ चैत्र । काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा आगामी दुई दिन मौसम बदली भई हावाहुरी सहित बर्षको सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

मुलुकका धेरैजसो ठाउँमा मौसम बदली हुँदा पश्चिम पहाडका केही ठाउँमा (आज) शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना भएको मौसम पुर्वानुमान महाशाखाकाे भनाइ छ ।

आजदेखि मुलुकको पूर्वी क्षेत्रबाट प्रवेश हुने वायुको प्रभावले देशका पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही भागमा बदली हुने भएको हो । साथै देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही भाग मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

त्यसैगरी हिमाली भागमा हल्का हिमपातको पनि सम्भावना रहेकाे महासाखाले जनाएको छ ।

शनिबार पनि देशको अधिकांश भागमा मेघ गर्जनसहित सामान्यदेखि पूर्ण बदली र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेकाे मौसम पुर्वानुमान महाशाखाले बताएकाे छ ।

तराईका सीमावर्ती जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।