झैझगडा केसमा पक्राउ परेका आफुनिकटलाई छाड्न नमान्दा वडाअध्यक्षले काटे प्रहरीको बिद्युत लाइन !

विराटनगर, २१ चैत्र । संघियताले दिएको पावरलाई जनप्रतिनिधिले गलत तरिकाले दुरुपयोग गर्न थालेका छन् । यसको पछिल्लो उदाहरण हुन् विराटनगरका हिरालाल कामत । विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामतले आफूले भनेअनुसार नगरेको भन्दै प्रहरी चौकी बखरीको बिजुली नै काटिदिएका छन् ।

वडाध्यक्षले लाइन काटेपछि ५ दिन यता प्रहरी चौकी विद्युतविहीन छ । विद्युत लाइन काटिएपछि चौकीमा रहेको सञ्चार सेट तथा मोबाइल चार्ज गर्न आसपासमा धाउनु प्रहरीको बाध्यता बनेको आजको अन्नपुर्ण पोष्टले खबर छापेको छ ।

स्थानीयवासीको सहयोगमा निर्माण भएको सो चौकीलाई स्थापनाकालदेखि नै वडा समितिको कार्यालयले आवश्यक विद्युत उपलब्ध गराउँदै आएको थियो । तर बिना सूचना एक्कासी विद्युत काटिएपछि दैनिक कार्यसञ्चालनमै समस्या भएको प्रहरी चौकी बखरीका प्रहरी सहायक निरीक्षक सन्तोष यादवले जानकारी दिए ।

वडा कार्यालयबाट आएको बिजुली बन्द भएपछि अरु स्थानबाट आपूर्ति गर्न लागेको यादवले बताए । प्रहरी चौकीले विराटनगरको ६, ११ र १२ हेर्दै आएको छ ।

घरेलु मदिरा उत्पादन र तस्करी हुने सो क्षेत्रमा पछिल्लो समय प्रहरीले कडाई गरेका छ । प्रहरीले कडाई गर्दा पक्राउ परेका कतिपय व्यक्तिलाई छाड्न वडाध्यक्ष कामतले प्रहरीलाई दबाव दिँदै आएको प्रहरी स्रोत बताउँछ । झैझगडा केसमा पक्राउ परेका आफूनिकटलाई छाड्न भन्दा प्रहरीले नामाएकोले बिद्युत काटिएको प्रहरीको दावी छ ।