विकास परिषद बैठक सम्पन्न

काठमाडौँ, २१ चैत। राष्ट्रिय विकास परिषद्को आज सम्पन्न बैठकले दीर्घकालीन सोच सहितको पन्ध्राँै योजनाको आधारपत्रलाई स्वीकृत गरेको छ ।

मुलुकलाई उच्च आय भएको विकसित र समुन्नत राष्ट्रको रुपमा पु¥याउने मार्गचित्र कार्यान्वयन गर्न पन्ध्रौँ योजनालाई आधार योजनाको रुपमा तयार गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज पत्रकार सम्मेलन गरी परिषद्को दुईदिने बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आगामी २५ वर्षमा तीव्र विकासको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सोच, गन्तव्य र परिमाणात्मक लक्ष्य सो आधारपत्रले लिएको जनाएको हो ।आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले पन्ध्रौँ योजनाको अवधिमा औसत दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्दै उच्च आय भएको सम्मुनत मुलुकको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्ने गरी सहकारी र सामुदायिक क्षेत्रको भूमिकालाई प्रभावकारी, पारदर्शी र सुदृढ बनाउनुपर्ने बताउनुभयो । आयोगका सदस्यसचिव लक्ष्मण अर्यालले बैठकमा प्राप्त सुझावका आधारमा पन्ध्राँै योजनाको आधारपत्र थप परिमार्जनसहित पूर्णता दिइने उल्लेख गर्नुभयो । दसवटा मुख्य लक्ष्यसहितको योजनाले प्रदेश सन्तुलनसहित रणनीति बनाएर अघि बढ्ने आयोगले जनाएको छ ।

बैठकको पहिलो दिन समष्टिगत आर्थिक, सामाजिक, पूर्वाधार, कृषि, वन तथा प्राकृतिक स्रोत, लोकतन्त्र र सुशासन तथा अन्तरसम्बन्धितलगायत ६ वटा क्षेत्रमा केन्द्रित भई प्रस्तुतिकरण र छलफल गरिएको थियो । बैठकमा उपप्रधानमन्त्री, मन्त्री, सातवटै प्रदेशका मुख्यमन्त्री, प्रतिनिधिसभा र राष्ट्रियसभाका संसदीय समितिका सभापति, सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारका उच्च अधिकारी, योजना आयोगका पूर्व उपाध्यक्ष र पूर्व सदस्य, निजी, सहकारी, सामुदायिक, तथा गैह्रसरकारी क्षेत्रका प्रतिनिधि, उद्योगी र विज्ञले सुझाव दिनुभएको थियो । रासस