हिमालय ऊर्जाको शेयरमा आकर्षण


काठमाडौँ, २१ चैत । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण शेयर बिक्री शुरु गरेको दुई दिनमै मागभन्दा बढीको आवेदन परेको छ ।

शेयर बिक्री भएको दोस्रो दिननै माग भएभन्दा १.२५ गुणा बढी शेयर आवेदन परेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले जानकारी दिनुभयो । हिमालय ऊर्जाले कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयरमध्ये कर्मचारीलाई ४४ हजार ५५० कित्ता र सामूहिक लगानी कोषलाई ७४ हजार २५० कित्ताबाहेक बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता साधारण शेयर बिक्री खुला गरेको छ । शेयर यही चैत २० गतेदेखि सर्वसाधारणका लागि बिक्री शुरु गरिएको हो ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ति र सात मेगावाटको अपर खिम्ति गरी कूल १९ मेगावाटका दुई आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाको कूल लागत रु तीन अर्ब १५ करोड रहेको छ । प्रतिमेगावाट लागत रु १६ करोड ५६ लाख मात्र रहेको छ । दुवै आयोजना आगामी असार मसान्तमा सम्पन्न हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement