ऊर्जा क्षेत्रमा सहयोग गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ, २१ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रको विकासका लागि जर्मनी सरकारको थप सहयोग अपेक्षा गरेको बताउनुभएको छ ।

आफूसँग आज शिष्टाचार भेटका लागि मन्त्रालय आउनुभएका नेपालका लागि जर्मनीका राजदूत रोलान्ड सेफरलाई मन्त्री पुनले ऊर्जा र वैकल्पिक ऊर्जाको क्षेत्रमा पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभएको हो । मन्त्री पुनले हालै सम्पन्न भएको लगानी सम्मेलन ऐतिहासिक रहेको भन्दै अब कार्यान्वयन प्रक्रियाको थालनी हुने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले ‘स्मार्ट मिटर’ र ‘स्मार्ट ग्रीड’ सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो । “स्मार्ट मिटर र स्मार्ट ग्रीड सरकारको प्राथमिकतामा छ, काठमाडौँमा भूमिगतरुपमा तार बिछ्याउने कामसमेत शुरु भइसकेको छ”, मन्त्री पुनले भन्नुभयो । भेटमा नेपालको विभिन्न क्षेत्रमा जर्मनीले गरेको सहयोगप्रति धन्यवाद दिँदै उहाँले आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा जर्मन राजदूत सेफरले ऊर्जा र वैकल्पिक ऊर्जाका क्षेत्रमा सहयोग गर्न जर्मनी इच्छुक रहेको धारणा राख्नुभयो ।

उहाँले स्मार्ट ग्रीडको अवस्थाका बारेमा समेत चासो व्यक्त गर्दै जर्मनी त्यसमा सहयोग गर्न तयार आतुर रहेको बताउनुभयो । राजदूत सेफरले लगानी सम्मेलन भव्यरुपमा सम्पन्न भएको भन्दै अब कार्यान्वयनको पाटोमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । राजदूत सेफरले नेपालको शान्ति प्रक्रिया विश्वमै सफल रहेको धारणासमेत मन्त्री पुनसँगको भेटमा राख्नुभएको थियो । रासस