पौडेलको हत्याका अभियुक्त पक्राउ

जीतपुर, २१ चैत। गत फागुन १० गते राति हत्या गरिएकी कपिलवस्तु, वाणगङ्गा नगरपालिका वडा नं ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई कपिलवस्तु प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरीले अभियुक्तलाई अनुसन्धान गर्दै जाँदा भारतबाट पक्राउ गरेको हो । हत्यामा संलग्नको नाम, थर र विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन । अहिले हिरासतमा रहेको र शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गरिने कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले बताउनुभयो । यसअघि प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको थियो ।

कपिलवस्तु प्रहरीले हत्याराको खोजी र तत्काल पक्राउ गर्न प्रहरी नायब उपरीक्षक रवि रावलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । पौडेलको हत्या गोली लागी नभई धारिलो हतियार प्रहारबाट भएको थियो । छब्बीस वर्षीया पौडेललाई केकसँग बेहोस हुने औषधि खुवाएर हत्या गरिएको अनुमान गरिएको छ । श्रीमान्सँग सम्बन्ध चिसिएपछि अदालतबाट अंश मुद्दा किनारा लाग्ने चरणमा रहेकै बखत हत्या गरिएकी पौडेलको घटनामा परिवारका सदस्यलाई समेत प्रहरीले छानबीनको दायरामा राखेको थियो । रासस