‘आपतका बेला एक हुने नेपालीको खास परिचय’

बर्दिवास, २१ चैत। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले अप्ठ्यारो र विपत्लाइ एक भएर सामना गर्ने नेपालीको खास परिचय भएको बताउनुभएको छ ।

आज गृह जिल्ला महोत्तरी पुग्नुभएका संयोजक भण्डारीले भङ्गाहा नगरपालिका–६ गणेशचोक जमुनियाँमा पार्टी कार्यकर्ता र सर्वसाधारणलाई बारा र पर्साका हावाहुरीपीडितको सहयोगार्थ अभियानमा लाग्न अपिलसमेत गर्नुभयो । “हामीबीच फरकफरक राजनीतिक विचार र मान्यता छन्”, महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका संयोजक भण्डारीले भन्नुभयो, “तर, दुःख र आपत्का बेला एकभएर त्यसको सामना गर्ने हाम्रो संस्कृति छ ।”

नेपालको जुनसुकै भेगमा बस्ने नेपालीलाई परेको चोटले आहत बनाउने र यस्तो बेला आपसी सहयोग र सद्भाव बढाउनु कर्तव्य र दायित्व भएको भण्डारीको भनाइ थियो । रासस